ताजाँकोटका विस्थापितलाई कर्णाली सरकार बाँड्यो केही थान त्रिपाल र कम्बल

हुम्ला कर्णाली प्रदेश सरकारले हुम्लाको ताजाँकोट गाउँपालिकाका बाढीपहिरो विस्थापितलाई केही थान त्रिपाल, कम्बल र म्याट्रेस वितरण गरेको छ ।

प्रदेश सरकारको तर्फबाट दुई सय ३० थान त्रिपाल, एक सय थान कम्बल, र एक सय थान म्याट्रेस दिएको ताजाँकोट गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले जानकारी दिइन् ।

गाउँपालिकामा बाढी पहिरोबाट करिब ६ सय १२ परिवारको बिचल्ली भएको र दुई सय घर क्षति भएको उपाध्यक्ष बुढाले बताइन् ।

ताजाँकोट गाउँपालिका सबै वडामा कति क्षति भएको छ यकिन गर्न कठिनाइ भएको उनले बताइन् ।

बाढीपहिरोले ओत लाग्ने घर र जायजेथा बगाएपछि खुला चौरमा पीडितहरू त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् ।

केही पीडितहरू साहारा लिएर आफन्तका घरमा बसेका छन् ।

बाढी पहिरो आउँदा छप्रेला बजार, उतिसेनी भदालदिपु, गल्लावाडा, खर्रा, देउला गैरा, चौतारीबाडा, भियालवाडा, काउलामगडा, सात्ती सेरी, भदौरा लुटपाटालगायत स्थानीयको बिचल्ली भएको गाउँपालिकाले जनाएको छ ।