हुम्लामा सीता एयरलाई प्रतिबन्ध लगाउने चेतावनी

जिल्लाको सिमिकोटमा रहेको विमानस्थलमा नेपालगञ्ज र सुर्खेतबाट उडान भर्दा यात्रुबाट भन्दा सामान (कार्गो) ढुवानी गर्दा बढी आम्दानी हुने भएपछि सीता एयरले मानिस ओसार्न कम गरेको छ । सामान ढुवानी गर्ने कार्गाेमात्र पठाई कम मात्रामा यात्रुहरुको उडान भर्ने गरेको भन्दै जनप्रतिनिधि तथा स्थानीयवासीले सीता एयर संचालकहरु नसुध्रिएसम्म हुम्लामा उडान भर्न प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

नेपालगञ्ज हुम्ली समाजले पनि सीता एयरले मानिस ओसार्दा एकतर्फी भाडा छ हजार रुपैयाँ र चार्टर फ्लाइट गर्दा १० हजार पाँच सय रुपैयाँ लिने गरेको भन्दै सो रकम सीता एयरले मनोमानी ढंगले लिने गरेको र भाडा बापतको उक्त रकम तत्काल घटाउनु पर्ने माग गरेको छ ।

हुम्लामा सञ्चालन हुने अन्य विमान कम्पनीहरु समिट एयर र तारा एयरले यात्रुलाई प्राथमिकता दिन गरेको भएता पनि सीता एयरले भने मनोमानी ढंगले नागरिक उड्डयन प्राधिकरणको नियम विपरीत यात्रुलाई भन्दा सामान ढुवानीलाई प्राथमिकता दिँदा नेपालगञ्जबाट र सुर्खेतबाट ओहोर दाहोर गर्ने यात्रु मारमा पर्ने गरेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए ।

अध्यक्ष लामाले सीता एयरले यो प्रबृत्ति नसुधारे जिल्लामा उसको उडान नै बन्द गर्ने चेतावनी दिए ।जिल्ला प्रशासन कार्यालय हुम्लामा सरोकार पक्षबीच कुराकानी गर्न सीडीओले विहिबार भोलि ३ वजे वैठक बोलाएका छन् ।