सुर्खेत- नेपाली क्यालेन्डर परिवर्तन हुने दिन आउन दुई दिन मात्र बाँकी छ। नयाँ वर्षमा नयाँ योजनासँग नयाँ ठाउँ घुम्ने इच्छा र योजना तपाईको पनि हुन सक्छ। भर्जिन कर्णालीमा पुगेर नयाँ वर्षलाई विशेष रुपले मनाउने योजनामा हुनुहुन्छ भने उपयुक्त पर्यटकीय गन्तव्यबारे जानकारी हुनैपर्छ।
मुगुको रारा, माथिल्लो डोल्पा (से–फोक्सुन्डो) र सल्यानको कुपिण्ड दल नयाँ वर्षमा घुम्नका लागि उत्कृष्ट गन्तव्य हुन्। तर रारा र से–फोक्सुन्डो पुग्न आर्थिक हिसाबले बढी खर्चालु छ। ८÷१० जनाको टोली बनाएर यी स्थानमा घुम्न जानु राम्रो हुन्छ। प्रतिकूल मौसम र नयाँ वर्षका कारण उपयुक्त समय हो। देशको जुनसुकै कुनामा भए पनि नेपालगन्ज प्रवेशपछि यी गन्तव्यहरुको यात्रा सुरु हुनेछ।
राराताल
कर्णाली भन्नेबित्तिकै तपाईं पहिलो रोजाइ रारा ताल हुन सक्छ। उसो त मौसमका हिसाबले पनि रारा पुग्नका लागि उपयुक्त समय हो यो। रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक ताल हो। नेपालकै सबैभन्दा ठूलो ताल रारा १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। समुद्री सतहबाट १० हजार फिट उचाइमा रारा ताल छ। ताल वरिपरि घुम्न ट्रेकिङ रुट छ। सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण नै भिन्न देखिन्छ। राराबाट फर्किएपछि तपाईंले जुम्लाको सिञ्जा उपत्यका घुम्न सकिन्छ। जुन नेपाली भाषाको उद्गमस्थल र सिञ्जा राज्यले परिचित क्षेत्र हो।
कसरी पुग्ने ?
रारा ताल प्रदेशको राजधानी सुर्खेतबाट निजी सवारीसाधन प्रयोग गरेर करिब डेढ दिनमा पुग्न सकिन्छ। रारातालाको यात्राका लागि स्कारपिओ, सुमो, टाटा सुमो र बाइक सजिलो हुन्छ। कालिकोटको नाग्मादेखि रारातालसम्म कच्ची बाटो छ। जसले गर्दा ह्याबी सवारीसाधन यात्राका लागि उपयुक्त हुन सक्छ। यसका साथै नेपालगन्जदेखि ५० मिनेटको हवाई यात्रापछि मुगुको ताल्चा विमानस्थल पुगिन्छ। ताल्चाबाट सानो गाडीको प्रयोग गरी करिब पौने घण्टा वा तीन घन्टाको पैदल दूरीमा रारा ताल पुगिन्छ।
माथिल्लो डोल्पा र से-फोक्सुन्डो
पैदल यात्रा र प्रकृतिसँग रमाउन चहानेका लागि माथिल्लो डोल्पा उपयुक्त गन्तव्य हो। गर्मी सयम सुरु भए पनि माथिल्लो डोल्पातिर अझै हिउँ पग्लिएको छैन। नयाँ वर्षमा तपाईं अग्ला लेकहरुमा हिउँ खेल्दै रमाइलो गर्न सक्नु हुनेछ। ट्रेकिङमा रुचि राख्नेका लागि माथिल्लो डोल्पा स्वर्गजस्तै हो। उच्च हिमाली भेग, रमणीय फाँटहरु माथिल्लो डोल्पामा सधैंका लागि भर्जिन छन्। तर सानो दुःखले डोल्पामा पुग्न सकिँदैन। त्यस्तै डोल्पाकै डोल्पाको से–फोक्सुन्डो ताल नयाँ वर्षका लागि अर्का महत्त्वपूर्ण गन्तव्य हो।
कसरी पुग्ने ?
माथिल्लो डोल्पामा जान नेपालगन्ज, सुर्खेत, जाजरकोट हुँदै डोल्पा सदरमुकामसम्म गाडीको यात्रा प्रयोग गर्न सकिन्छ। जाजरकोटदेखि–दुनैसम्म बीचबीचमा गाडी परिवर्तन गर्नुपर्छ।
तर समयको बचत र सुरक्षित यात्राका लागि भने हवाई यात्रा उपयुक्त हुन्छ। करिव ४५ मिनेटमा नेपालगन्ज विमानस्थलबाट डोल्पाको जुफाल विमानस्थल पुग्न सकिन्छ। त्यहाँबाट करिब पौने घन्टाको गाडी यात्रापछि सदरमुकाम दुनै पुग्न सकिन्छ। दुनैबाट करिब तीन दिनको पैदल यात्रा गर्दै तपाईं माथिल्लो डोल्पामा पुग्न सक्नुहुन्छ। त्यहाँ पुगेपछि विभिन्न फाँट, अग्ला हिमाल, गुम्बा र विभिन्न मनोरम बस्तीमा रमाउन सकिन्छ।
एयरपोर्टबाट दुनै जाने र फोक्सुन्डो जाने बाटो फरक छ। भेरी र फोक्सुन्डो नदीको दोभान–सुलिगार्ड साङटा, नाउर हुँदै करिब ३ दिनपछि से–फोक्सुन्डोमा पुग्न सकिन्छ। फोक्सुन्डो ताल नजिकै राम्रो बासस्थान नभएका कारण पनि साँझ रिग्मो गाउँमा बास बस्न सकिन्छ। से–फोक्सुन्डो ताल समुद्री सतहबाट ११ हजार ८ सय फिट उचाइमा रहेको यो ताल नेपालको सबैभन्दा गहिरो तालसमेत हो।
कुपिन्डे दह
कुपिन्डे दह पिक्निकस्पट र ढुङ्गामा रमाउनका लागि उपयुक्त गन्तव्य हो। सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिन्डे दह प्रदेश राजधानी सुर्खेतसँग जोडिएको छ। पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएके कुपिण्डे ढुङ्गामा रमाउन सकिनेछ। कुपिण्डे दह २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
कसरी पुग्ने ?
सुर्खेत र सल्यान दुवै ठाउँबाट कुपिण्डेमा पुग्न सकिन्छ। जिल्ला सदरमुकाम खलंगादेखि करिब अढाइ घन्टा र सुर्खेतदेखि करिब तीन घण्टाको गाडी यात्रापछि त्यहाँ पुग्न सकिन्छ।
देव राना । ३० चैत्र २०७५, शनिबार १८:०१