हुम्ला सदरमुकाम सिमकोटमा संचालित बालगृहहरुको अनुगमन गरिएको छ । संचालित बालगृहरुको अवस्थाका बारेमा बुझ्न उक्त अनुगमन गरिएको हो ।
सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाको नेतृत्वमा गरिएको अनुगमनमा सिमकोटमा संचालित पाँच वटा बालगृहहरुको सबै पक्षलाई स्थलगत रुपमा अनुगमन गरिएको अध्यक्ष लामाले बताउनु भयो । यसरी अनुगमन गरिएका बालगृहहरुमा हेड नेपाल माया सदन, रेडिहोम प्रोजेक्ट, सहारा समुह र प्रोजेक्ट हिमालय रहेको उहाँले बताउनु भयो । ती बालगृहहरुमा हुम्लाका झण्डै दुई सय भन्दा बालबालिकाहरु निशुल्क रुपमा अध्ययन गरी रहेका छन् । अनुगमनका क्रममा केहीको अवस्थामा सुधार गर्नु पर्ने देखिएको जसमा सरसफाई, खानपान जस्ता कुरा रहेको सिमकोट गाउँपालिका शाखा अधिकृत एवं युनिसेफ फोकल पर्सन जंग बहादुर रोकायाले बताउनु भयो । त्यो संगै प्रोजेक्टद्धारा संचालन भएकोले यसको दिगोपनाका बारेमा पनि सोच्न अनुगमन समितिले सुझाव दिएको उहाँले बताउनु भयो । केही सुधार गृहको अवस्था भने राम्रो रहेको उहाँले बताउनु भयो । यी सुधार गृहमा अध्ययनरत विद्यार्थीहरु सहारा र हिमालयका आफ्र्नै विद्यालय संचालन छन भने अन्य तीन वटा बालगृहका विद्यार्थीहरु बालमन्दिर र मानसरोवर मावि र कालाशिल्ता प्राविमा अध्ययन गरी रहेका छन् । अनुगमनमा उपाध्यक्ष बली रावत, प्रमुख प्रशासकीय अधिकृत दर्जुन दर्जी लगायतको सहभागिता रहेको थियो ।
तिलसरा बिक । ३० चैत्र २०७५, शनिबार १७:४३