अलपत्र खानेपानीका योजना
खर्पुनाथ गाउँपालिका ३ राया गाउँकी उजेली रावल बिहान ४ बजे नै उठेर पानी लिन १ घण्टा टाढाको धारामा जान्छिन् । धेरै टाढा गएर घण्टौ लाइन बसेर पानी ल्याउनु परेकोले साह्रै समस्या भएको गुनासो उनको छ ।
गाउँमा खानेपानीको धारो नभएको भने हैन् । ०७२ मा ग्रामीण जलस्रोत व्यवस्थापन कार्यालयले खानेपानीको धारो निर्माण गरेको थियो । ‘धारा पानी नआएर हाँसेका छन, घट्ट पानी नभएर बसेका छन्,’ खर्पुनाथ ३ रायकी कलशा रावलको गुनासो छ ‘गाउँमा धारा निर्माण भएको ४ वर्ष र पानीको थोपा नआएको ४ वर्ष भयो’ सरकार जसको आएपनि जनतालाई ढाट्ने काम मात्रै गरेको उनले दुखेसो गरिन् ।
कुति हिल्सा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको १ महिनासम्म नियमित पानी आएपनि त्यसपछि धारामा पानी आउन छाडेको स्थानीय पुर्ण बहादुर रोकायाले बताए । ग्रामिण जलश्रोतका योजनाका धारामा ४ वर्षदेखि पानि आएको छैन भने आधुनिक घट्ट १ वर्षदेखि सञ्चालन हुन सकेका छैनन् । ग्रामिण जलश्रोतले निर्माण गरेको धारा कहिले पाइप फुटने समस्या त कहिले पानी नआउने समस्या भएको स्थानियको गुनासो छ । ‘जोसुकै सरकारी तथा गैरसरकारी संस्था आएपनि घरमा धारो त बनाइदिन्छन् तर पानिको समस्या कहिल्यै समाधान हुँदैन’ रोकायाले गुनासो गरे ।
गाउँका एक सय ९० घरधुरीलाई लक्षित गरी ३० वटा धारा निर्माण भएका छन् । खानेपानीको व्यवस्थापनका लागि उपभोक्ता समितिसमेत गठन गरिएको छ । उपभोक्ता समिति, प्राविधिक र सम्बन्धित ग्रामीण जलस्रोत व्यवस्थापन कार्यलयको लापरबाहीका कारण आयोजना अलपत्र परेको स्थानीय बताउँछन् । कमसल पाइप खरिद गरिएका कारण स्थानियले वर्षौँदेखि समस्या व्यहोर्नु परेको छ । गा्रमिण जलश्रोतका अधिकृत ऐन बहादुर रोकाया ‘गाउँमा ढल निकास नभएका कारण समस्या भएको’ बताउँछन् ।
उनले उल्टै स्थानीयहरुले ढलको माग गरेपछि समस्या भएको बताए । कुति हिल्सा खानेपानी तथा सरफाई आयोजनामा ५६ लाख बजेट छ । ग्रामिण जलश्रोत परियोजना मार्फत ४३ लाख आर्थिक सहयोग र स्थानीयले १३ लाख बराबरीको जनश्रमदान गरेर धारा निर्माण गरिएका छन् तर, स्थानीयको खानेपानी समस्या जहाँको तहीँ छ । Naya patrika
नरजन तामाङ । १० चैत्र २०७५, आईतवार १७:३७