स्टोरमा औषधि राखेर जनप्रतिनिधि घुमघामका लागि काठमाडौंमा बसेपछि हुम्लाको सर्केगाड गाउँपालिकामा औषधि अभाव भएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी भए पनि औषधि नहुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन् ।
उपचारका लागि सायाँ स्वास्थ्य चौकीमा पुगेका स्थानीय बासिन्दाले रित्तै फर्किनुपरेको बताएका छन् । स्वास्थ्यकर्मीले जाँच गरे पनि औषधि नपाउँदा समस्या परेको सर्केगाड–४ की बेलसरा पालले बताइन् । ‘दमको उपचार गर्न आएकी थिएँ । डाक्टर त भेटिए, औषधि सकिएको रहेछ,’ उनले गुनासो गरिन् । पेट दुखेपछि स्वास्थ्यचौकी पुगेकी स्थानीय पुतली शाही पनि औषधि नपाएर घर फर्किएको बताइन् । ‘पहिले डाक्टर हुँदैनथे, अहिले औषधि छैन । हामीलाई त जहिल्यै दुःखै छ,’ उनले भनिन् ।
अहिले सायाँ स्वास्थ्य चौकीमा दैनिक २५ देखि ३० जनासम्म बिरामी आउने गरेका छन् । उनीहरू एक महिनादेखि औषधि नपाएरै घर फर्किरहेका छन् । चिसो बढेसँगै रुघाखोकी, ज्वरो, झाडापखाला, निमोनियालगायतका बिरामीको संख्या बढेको स्वास्थ्य चौकीले जनाएको छ । सर्केगार्ड गाउँपालिकामा स्वास्थ्य चौकी, उपास्वास्थ्य चौकी र सामुदायिक क्लिनिक गरी नौवटा स्वास्थ्य संस्था छन् । सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि सकिएको छ ।
अध्यक्ष र कर्मचारी काठमाडौंमा
सर्केगाडका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी, प्रमुख प्रशासकीय अधिकृत योगेश्वर पाण्डे तथा स्वास्थ्य संयोजक सन्तोष धामी गाउँपालिकामा छैनन् । उनीहरू डेढ महिनादेखि जिल्लाबाहिर छन् । अध्यक्ष, उपाध्यक्ष र प्रमुख कार्यकारी अधिकृत काठमाडौं गएका छन् ।
त्यस्तै, स्वास्थ्य संयोजक धामी पनि जिल्लामा छैनन् । ‘अध्यक्ष, उपाध्यक्ष र प्रमुख कार्यकारी अधिकृतज्यू डेढ महिना भयो, काठमाडौं जानुभा’छ । म पनि हुम्ला फर्किनका लागि नेपालगन्ज पुगेको छु,’ स्वास्थ्य संयोजक धामीले टेलिफोनमा नयाँ पत्रिकासँग कुराकानी गर्दै भने, ‘भण्डारण कक्षमा औषधि छ । स्वास्थ्य संस्थाबाट माग आएपछि दिनुपर्ने हो ।’
उनले औषधि अभाव नभएको दाबी गरे । उनी पनि डेढ महिनाअघि गाउँपालिकाबाट काठमाडौंतिर हिँडेका थिए । त्यतिवेला कसैले कहिँबाट पनि औषधिको माग नआएको जिकिर गर्दै उनले भने, ‘कार्यालय सहयोगीको जिम्मा छोडेर आएको हुँ । माग भएपछि दिनुपर्ने हो ।’
कर्णाली रैवार संवाददाता । २२ फाल्गुन २०७५, बुधबार १७:३८