कर्णालीका मन्‍त्रीलाई रोपाइँमा निम्तो !

सुर्खेत- कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रम । समीक्षा सकिएलगत्तै एक वर्ष पुगेको अवसरमा मन्त्रालयले ‘हेलो किसान’ कार्यक्रम सुरु गर्ने कार्यतालिका थियो । समीक्षा सकिएलगत्तै मन्त्री विमला केसी ‘किसान हेल्प डेस्क’ र ‘हेलो किसान’ रहेको कार्यकक्षमा प्रवेश गरिन् । मन्त्री कुर्सीमा बस्न नपाउँदै उताबाट टिनीनीनी…. टेलिफोनको घन्टी बज्यो । दुई घन्टीपछि मन्त्रीले उठाइन् ।

मन्त्रीज्यू नमस्कार, म पूर्णबहादुर थापा उत्ताबाट आवाज आयो । डुङ्गेश्वर गाउँपालिका २ हुमबाट बोल्दैछु । यति भनेसकेपछि मन्त्री केसी र थापाबीच वार्ता सुरु भयो । कुराकानीमा थापाले मौरी पालक किसानलाई सरकारले अनुदान दिने सुनेको भन्दै त्यसको अनुदान लिन के-के प्रक्रिया अपनाउनुपर्छ भनी सोधे । आफ्नो गाउँमा प्रशस्त मौरीपालक कृषकहरु रहेको जानकारी दिँदै गाउँलाई नै मौरीको पकेट क्षेत्र बनाउन सरकारले किसानलाई अनुदान दिनुपर्ने सुझाव दिए ।

उनका कुरा सुनेपछि मन्त्री केसीले पकेट क्षेत्र निर्धारणका लागि कर्मचारी गाउँमै आएर अध्ययन गर्ने सकिने आश्वासन दिइन् र थापाले फोन राखे । करिब पाँच मिनेट जति गरिएको यो संवाद सकिन नपाउँदै फेरि उसैगरी टिनीनीनी…… टेलिफोनको घन्टी बज्यो ।

मन्त्रीज्यू नमस्कार, म मुरारीजंग शाही बोल्दैछु । वीरेन्द्रनगर-१० सानो सुर्खेतबाट हो ।

हजुर भन्नोस् मन्त्रीले कुराकानी सुरु गरिन् ।

‘तपाईंलाई रोपाइँमा निम्तो छ, हामी फागुन २० गतेबाट रोपाइँ सुरु गर्दैछौँ ।’ मन्त्री एकछिन रोकिन पुगिन् । आजभोलि नै रोपाइँ हुन्छ ? मन्त्रीले प्रतिप्रश्न गरिन् । पानी परिसकेको जानकारी दिँदै उताबाट जबाफ आउँछ ‘कालो धान र कालो मकै रोप्ने समय भइसक्यो ।’ यति सुन्दा पनि मन्त्री अझै अलमलमा परिन् ।

सँगै रहेका मन्त्रालयका सचिव शिवनारायण चौधरीसँग कालो मकै पनि हुन्छ भन्ने संकेत गरेपछि मन्त्रीले कुराकानीलाई निरन्तरता दिइन् । ‘कालो धान त सुनेकी थिएँ, कालो मकै त नयाँ कुरा भयो ।’ उताबाट सबै मन्त्रीहरुलाई रोपाइँमा निम्ता छ भन्दै संवाद टुंगियो । मन्त्री केसी अलमलमा पर्नुको कारण कालो मकैको जाति हुन्छ भन्ने आजसम्म पनि थाहा रहेनछ ।

मन्त्रालयले एक वर्ष पुगेको अवसरमा सुरु गरेको ‘हेलो किसान’ कार्यक्रमको दृश्य हो यो । सम्भवतः उताबाट टेलिफोन गर्न मान्छे पूर्व निर्धारित नै थियो तर मन्त्रीसँग भने पहिलो पटक कुराकानी भएको बुझियो ।

मन्त्रालयले किसानका समस्या र गुनासा सुन्न निःशुल्क रुपमा मन्त्री, सचिव र विषय विशेषज्ञसँग कुराकानी गर्ने गरी टोलफ्री नम्बर १६६००८३५२०१२ सहित ‘हेलो किसान कार्यक्रम’ सुरु गरेको छ । सोही अवसरमा मन्त्रालयले डिजिटल सूचना बोर्डसमेत उद्घाटन गरेको छ । मन्त्रालयमा आउने किसानहरुलाई कृषिसम्बन्धी आवश्यक ज्ञान मूलक सूचनाहरु राखिने मन्त्री विमला केसीले जानकारी दिइन् । सूचना बोर्डको औपचारिक उद्घाटन गर्दै मन्त्री केसीले सूचनापाटीमा विशेष गरी अर्गानिक कृषिसम्बन्धी सूचना दिने बताइन् ।

बितेका एक वर्षमा मन्त्रालयले किसानको जीवनस्तर परिवर्तनका लागि सबै जिल्लामा अर्गानिक नमूना कार्यक्रम, कृषि पेन्सन कार्यक्रम, विभिन्न कृषि पुरुस्कारदेखि प्रदेश स्तरिय कृषि नायक/नायिक कार्यक्रमसम्म लागु गरेको बताएको छ ।

वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मन्त्री विमला केसीले व्यवसायिक कृषि विना कर्णालीको समृद्धि र परिवर्तन सम्भवन नरहेको बताईन । उनले कानुन र कर्मचारी अभावका बीचबाट पनि मन्त्रालयले केही सन्तोषजनक उपलब्धि हासल गरेको जानकारी दिइन् । किसानलाई व्यवसायमा प्रात्साहन हुने गरी आधारित अनुदान कार्यक्रमअन्तर्गत, कृषि संस्था, सहकारी र किसानलाई विभिन्न पुरस्कारबाट सम्मानित गर्ने आयोजना अगाडि सारेको बताइन् ।

कार्यक्रमअनुसार प्रदेशका ७९ स्थानीय तहमा एक/एक जना महिला र पुरुष किसान गरी १ सय ५८ जना किसान पुरस्कृत हुने छन् । त्यस्तै जिल्लाका स्थानीय तहबाट उत्कृष्ट छनोट भएका दस जिल्लाका २० किसानसमेत पुरुस्कृत हुनेछन् । अन्तिममा दस जिल्लाबाट छनोट भएका एकएक महिला तथा पुरुषलाई प्रदेशस्तरीय नायक/नायिकाका रुपमा पुरस्कृत गर्ने मन्त्रालयको योजना छ ।