सुर्खेत, कर्णाली प्रदेशमा पहिलो पटक भएको ‘मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिता’को उपाधि रुकुमपश्चिम र कालिकोटले कब्जा गरेका छन् । प्रतियोगीतामा पुरुषतर्फ रुकुमपश्चिम र महिलातर्फ महिलातर्फ कालिकोट विजयी भएका हुन् । विजेताले दुबै टिमले एक–एक लाख रुपैयाँ पुरस्कार र मेडल प्राप्त गरेका छन् ।
पुरुषतर्फ रुकुमले सल्यानलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो । जितसँगै रुकुमले सल्यानसँग समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ । खेलमा सल्यानलाई रुकुमले २८–२६, २५–१९ र २५–२३ को अन्तरमा पराजित गर्दै पहिलो पटको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो ।
त्यस्तै सल्यानले उपविजेता बनेको छ भने घरेलु टोली सुर्खेतले तेस्रो स्थानमा जित्त बुझाएको छ । समुह चरणको खेलमा लगातार जित हातपार्दै शिर्षस्थानमा रहदै आएको सल्यान फाईनलमा भने हार भोग्न बाध्य भएको हो । सुरुका खेलमा राम्रो प्रर्दशन गरेपनि अन्तिममा आफुलाई सम्हाल्न नसक्दा सल्यान उपाधि सुम्पन बाध्य भएको हो । उपविजेताले सल्यानले ७५ हजार, मेडल र तेस्रो स्थान प्राप्त गरेको सुर्खेतले ५० हजार पुरुस्कार र मेडल प्राप्त गरेका हुन् ।
त्यस्तै महिलातर्फ भने कालीकोटले रुकुम पश्चिमलाई ३–० शून्यको सोझो सेटमा हराउँदै एक लाख र मेडल हात पारेको छ । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँमै चित्त बुझाएका छन् ।
महिला तथा पुरुष दुबैतर्फको फाइनल खेलमा खेलाडीहरुविच कडा प्रतिस्पर्धा भएको थियो । कर्णालीमा लोकप्रिय मानिने भलिबल खेललाई सरकारले २०७४ जेठ ८ गते राष्ट्रिय खेलको रुपमा मान्यता दिएको छ । प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका पुरुष तथा महिलाको दश–दश वटा टिमको सहभागीता रहेको थियो । फागुन १ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
देव राना । ५ फाल्गुन २०७५, आईतवार १८:४५