देश जनप्रतिनिधिको तलब निकासा सुरु

स्थानीय तहमा निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र गाउँ सभा सदस्यका लागि तलब निकासा दिन लागिएको हो ।

हुम्ला( हुम्लाका स्थानीय तहले जनप्रतिनिधिलाई तलव दिन थालेका छन् । निर्वाचित भएको १८ महिनापछि जनप्रतिनिधिले एकमुष्ट तलब पाउन लागेका हुन् । जिल्लाका सातवटै गाउँपालिकाका जनप्रतिनिधिलाई एकमुष्ठ रकम निकासा गर्ने तयारी भएको हो । कर्णाली प्रदेश सरकारले गरेको निर्णयअनुसार जनप्रतिनिधिहरूलाई एकमुष्ठ तलब निकासा गर्न लागिएको हो ।
स्थानीय तहमा निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र गाउँ सभा सदस्यका लागि तलब निकाशा दिन लागिएको हो । हुम्लाको सर्केगाड गाउँपालिकाले आइतबार जनप्रतिनिधिको तलब निकाशा गरेको छ । निर्वाचित भएको दिनदेखिको सबै तलव भत्ता जनप्रतिनिधिको खातामा हालिएको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेले बताए । सर्केगाडका सबै वडाका अध्यक्ष, गाउँसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको सर्केगाडमा रहेको सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा रकम निकाशा गरिएको पाण्डेले बताए ।

गाउँपालिकाका सबै जनप्रतिनिधिलाई हालसम्मको तलब ६७ लाख ७४ हजार ७५ रुपैयाँ निकासा सर्केगाड गाउँपालिकाले गरेको छ । गाउँपालिकाको अध्यक्षको ३० हजार ५ सय, उपाध्यक्षको २५ हजार, वडाध्यक्षको १९ हजार ८ सय र कार्यपालिका सदस्यको १० हजार रुपैयाँका दरले प्रतिमहिनाको एकमुष्ठ रकम निकासा भएको छ । अन्य गाउँपालिकाले पनि केही दिनमै सो निकासा गर्ने गरी कार्यआरम्भ गरेका छन् । स्थानीय तहले यो आर्थिक वर्षको पहिलो चौमासिक सबै कर्मचारीको तलव भत्ता पनि निकासा गर्न थालेको छ । शिक्षक, निजामती कर्मचारी, करारमा रहेका सबै कर्मचारीको तलब भत्ता पनि निकासा सुरु गरेका छन् ।
गाउँपालिकामा यस आर्थिक वर्षका लागि विनियोजित रकम भने निकासामा केही ढिलो हुने देखिएको छ । गाउँमा उपभोक्ता समितिको निर्माण ढिलो भई सम्झौता गर्न ढिलो भएका कारण काममा दु्रत हुन सकेको छैन । उपभोक्ता समितिको गठन गर्नमा गाउँघरमा तदारुकता नहुनु, विकास भनेको जेठ असारमा मात्र गरिने काम हो सोच्नु, हुम्लामा असोज र कात्तिक महिनामा अन्न बाली भित्र्याउने समय हुनुलगायतका कारण गाउँपालिकाको योजना तर्जुमाको कामले गति लिन सकिरहेको छैन ।
भर्खरै मात्र आन्तरिक लेखापरीक्षण र महालेखा परीक्षणको काम सम्पन्न गरेका स्थानीय तहले विकास निर्माणको सम्झौता गर्ने, पेस्की रकम निकाशा गर्ने काममा लागेका छन् भने केही स्थानीय तहले भने महालेखा परिक्षणको काम अगाडि बढाइरहेका छन् ।
सर्केगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेले हिउँद महिनामा हिउँ पर्ने, अत्याधिक चिसो हुनेलगायतका कारणले विकास निर्माणका काम ठप्प हुने गरेको बताए । प्रभावकारी विकास निर्माणको काम अघि बढाउन आफूले चाँडै रकम निकासा गरेको उनको भनाइ छ ।
स्थानीय तहले विद्यालयमा प्रदान गरिने छात्रवृत्ति, कर्णालीका बालबालिकाको दिवा खाजा कार्यक्रम र शिक्षा क्षेत्रमा सञ्चालन हुने नियमित कार्यक्रमका लागि पनि रकम निकासा गरेको छ । यता सिमकोट गाउँपालिकाले पनि आइतबारबाटै कर्मचारीको तलव, योजना तर्जुमाका रकम निकासा दिन सुरु गरेको छ । सम्झौता भएका योजनाको पेस्की रकम निकाशा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए । दसैं नजिक आउँदै गरेका बेला योजनालगायत सबै खाले कर्मचारीको तलब अगाडि निकासा गरी योजनाको काममा गाउँपालिकाको ध्यान रहेको दर्जीले बताए ।