खेलमैदानमा आफ्नै देशले हारेकाे फाेटाे रुँदै खिचिरहने यी भावुक फोटोग्राफर..(फाेटाे फिचर)

काठमाडौं : आफ्नो देशको टिमले अन्य देशसँग खेलिरहँदा महसुस हुन्छ मान्छेको राष्ट्रिय भावना । यूएईमा नेपाली क्रिकेट टिमले शानदार तरिकाले जितेसँगै यसको अनुभव धेरै नेपालीलाई भयो ।

यही परिस्थितिलाई अर्को पाटोबाट हेरौँ न, जस्तो कि, हार्ने देशका नागरिक र खेलप्रेमीलाई कस्तो भयो होला ? त्यस्तै पराजयको प्रतिबिम्व एकजना फोटोग्राफरको अनुहारमा प्रष्ट देखिएको छ ।

एएफसी एसियन कप अन्तरगत प्रतिस्पर्धा गरिरहेको इराकको खेल फोटोमा कैद गरिरहेका थिए फोटोग्राफर मोहम्मद अल अजवीले । जब इराकले खेल हार्दै गर्यो, इराकी फोटोग्राफर मोहम्मद रुन थाले ।

तै पनि फोटो खिच्न भने छोडेनन् । उनै फोटोग्राफरले रुँदै फोटो खिच्दै गरेको अवस्थाको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ । तस्बिरमा मोहम्मद आँखाबाट आँसु चुहाउँदै खेलको फोटो खिचिरहेका छन् ।

यसले उनको देशप्रेम र पेशाप्रतिको लगाव प्रकट गरेको छ । मोहम्मदले आफ्नो पेशा र देशप्रेमको भाव एकैपटक दर्शाएको भन्दै धेरैले उनको प्रशंसा पनि गरेका छन् । कतिले त उनका यी तस्बिर ‘अति सुन्दर तर दुखदायी’, ‘मुटु हल्लाउने’ जस्ता टिप्पणी गर्दै प्रशंसा गरे ।

एएफसी एसिया कप अन्तरगत कतारसँगको खेलमा इराकले १–० ले हार व्यहोरेको थियो । तर मोहम्मदको यस्तो अद्धितीय तस्बिर सार्वजनिक भएपछि भने उनलाई कतारकै खेलप्रेमीले समेत ढाडस् दिएका छन् । फेसबुक पेज ट्राेल फुटबल, फुटबल ट्वीट लगायतका साइटले यी तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेका हुन् ।

अन्नपूर्ण