शान्ता कमली,लमजुङ माघ १५ गते ।
तामाङ जातीको साँस्कृतिक पर्व २८५५ औँ सोनाम ल्होछार अर्थात फाग ल्हो (सुंगुर वर्ग) को अवसरमा आयोजित दोस्रो तामाङ सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ ।
आयोजकका अनुसार मञ्च व्यवस्थापन, स्टल निर्माण, बजार सरसफाई, प्रचारप्रचार लगायतका अन्य सम्पूर्ण कामहरु पुरा भएका छन् । महोत्सवको पुर्वसन्धयमा मंगलबार बेसीशहर बजार सरसफाई गरिएको हो । बजार सरसफाईमा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल , राष्ट्रिय अनुसन्धान लमजुङका प्रमुख सुरेश तिवारी लगायत तामाङ समुदायका अगुवा, आमासमुह लगायतको सहभागीता रहेको थियो । महोत्सवको बुधबार माघ १६ गते श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ‘भाषा, धर्म, संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ दोस्रो तामाङ महोत्सवको आयोजना गरिएको नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति लमजुङका अध्यक्ष अजय तामाङले बताए ।
तामाङ जातिको लोप हुन लागेको संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष तामाङले बताए । उत्पादन, निर्माण र सम्वृद्धिको आधारमा नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नका लागि महोत्सव गर्न लागेका छौँ अध्यक्ष तामाङले भने ।
कार्यक्रम जिल्ला सदरमुकाम बेशीसहरको फुलबारी मञ्चमा हनेछ । महोत्सव उद्घाटन अघि सदरमुकाम बेशीसहरको मनाङे चौतारा देखि कार्यक्रम स्थलसम्म साँस्कृतिक भेषभुषा सहितको र्र्यालीको आयोजना गरिने भएको छ । लोप हुन लागेको सस्कृतिलाई जोगाउने उदेश्यले महोत्सवको आयोजना गरीएको आयोजकले जनाएको छ ।
महोत्सवमा तामाङ जातिको फोटो प्रदर्शनी, लामा सङ्ग्रहालय, तामाङ सांस्कृतिक सङ्ग्रहालय, बोम्बो सङ्ग्रहालय, तामाङ जातिको लिपिबद्ध सामग्रीको पुस्तकालय, तामाङ खाना परिकार लगायत कार्यक्रम रहेको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार साथै प्रथम नेपाल आइडल बुद्ध लामाको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । जिल्लाभित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।
महोत्सवको अवसरमा तामाङ लोकसंस्कृतिमा आधार विभिन्न संस्कृति तथा कला, गीत र नृत्यको समेत प्रदर्शन गरिने तामाङ घेदुङका केन्द्रीय सदस्य सावित्री तमाङले बताइन् ।
महोत्सवमा तामाङको सस्कृति झल्कने नाचहरू मेन्दोमाया, सेलो नाच, बम्बो नाच, लामा नाच तथा तम्बा नाचको विशेष प्रस्तुति रहने नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका उपाध्यक्ष हरिजंग तामाङले बताए । महोत्सवमा ६ लाख खर्च हुने र १५ लाख आम्दानी गरीने आयोजकको अपेक्षा छ । महोत्सवमा ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव स्थलमा तामाङ जातीको पहीचान खुल्ने ९ वटा स्टल समेत राखीने भएको छ ।
कर्णाली रैवार संवाददाता । १५ माघ २०७५, मंगलवार २१:३९