हुम्लामा चाइनिज पोण्ड हेरनको पहिलो अभिलेख

लूरपे उपत्यका, हुम्ला

चाइनिज पोण्ड हेरन (Ardeola bacchus) पहिलोपटक हुम्ला जिल्लामा भेटिएको  छ। यो दुर्लभ र उल्लेखनीय अवलोकन १८ जेठ २०८२ ( 1st June 2025) को दिन उकालीको हिमचितुवा सर्वेक्षण सिजन ३ को क्रममा भएको हो, जुन सर्वेक्षण वन्यजन्तु फोटोग्राफर टाशी आर घले को नेतृत्वमा गरिएको थियो।

उक्त चराको फोटो लूरपे उपत्यका भन्ने  हुम्लाको दुर्गम हिमाली क्षेत्रमा खिचिएको हो। यो फोटो,यो चराको अस्तित्व पुष्टि गर्ने प्रमाण हो, तर यसले पूर्व एसियाली चराको संभावित बासस्थानको सीमा पश्चिमी हिमाली क्षेत्रमा फैलिएको संकेत पनि दिन्छ।

टासी आर घले (फोटोग्राफर ),अविनाश लामा (आउटरीच अफिसर उकाली), लुन्डुप दोर्जे लामा (संरक्षण अधिकृत उकाली), टासी तोपग्याल तामाङ(अनुसन्धान सहयोगी, उकाली),फुर्वु लामा (लोजिस्टिक हेड), हेन्‍री लुड्के(इन्टर्न विद्यार्थी, अमेरिकन) ,लियो डुट्केविच (इन्टर्न विद्यार्थी, अमेरिकन), छयांग लामा(कुक),सोनम टासी लामा(सिटिजन साइन्टिस) सर्भेक्षण टोलीमा समावेश थिए।

चाइनिज पोण्ड हेरन सामान्यतः पूर्व र दक्षिणपूर्व एशियामा पाइने चरा हो, र नेपालमा पहिलोपटक सन् २०२२ मा चितवन जिल्लाको एक धान खेतमा यसको अभिलेख गरिएको थियो। त्यसपछि पोखरा, धनुषा र शुक्लाफाँटमा पनि देखापरेको थियो। तर यसअघि हुम्लामा कहिल्यै यसको कुनै अभिलेख थिएन।

“यो हुम्लाका लागि चराविज्ञानको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो,” फोटोग्राफर टाशी आर घले भन्छन्। “हामी हिमचितुवाको अनुसन्धानमा होमिएका थियौं, तर प्रकृतिले हामीलाई एउटा नयाँ चकित पार्ने उपहार दियो।”

अनुसन्धान गर्दा यस क्षेत्रमा ५३ थरीका चराहरू पाइएको उल्लेख गरिएको छ, जसले यस क्षेत्रको जैविक विविधता निकै समृद्ध रहेको संकेत गर्छ। यी चराहरूमा केही सामान्य प्रजातिहरू मात्रै नभई दुर्लभ र संरक्षणको आवश्यकता पर्ने प्रजातिहरू पनि समावेश छन्, जुन वैज्ञानिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ।

यस ऐतिहासिक अवलोकनले हुम्लामा चराहरूको थप अनुसन्धान र संरक्षणलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ। उकालीको बहु-प्रजाति संरक्षण दृष्टिकोणले भविष्यमा जैविक विविधता अन्वेषणका लागि एउटा उदाहरण प्रस्तुत गरेको छ।

उकालीको बारेमा थप जानकारीका लागि www.ukali.org