हुम्लाको सल्लीखोलामा बन्यो पक्की पुल

हुम्ला– उत्तरी नाम्खा गाउँपालिका–३ र ४ को सीमानाको सल्ली खोलामा गाडी गुडने पहिलो पटक पक्की पुल निर्माण भएको छ । साढे ६ वर्षपछि निर्माण कम्पनीले पहिलो पटक गाडी गुडने पक्की पुल निर्माण गरेको हो ।

सिमकोटदेखि उत्तरी हिल्सा नाकासम्म पुग्न चार वटा खोला पुल निर्माणको कार्य सुरु भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए । हेप्काखोला, ताग्रुखोला, सल्ली खोला र याङगार खोला पक्की पुल निर्माण ७ वर्ष पहिले भएपनि सल्लीखोलाको पुल निर्माण छिटो सम्पन्न भएको योजना प्रमुख नेपालीले बताए ।
२९ मिटर लम्बाई र ११ मिटर चौढाई भएको पुलको निर्माण कार्य सम्पन्न भएपछि अब यसअघि उक्त खोलामा काठे पुलमा तर्दै आएका यातायातका साधनहरुलाई सहज भएको नेपालको भनाई छ ।
पुल निर्माणका लागि आयोजनाले पटक पटक ताकेता गरेकै कारण निर्धारित समय भन्दा ढिलो भएपनि पुलको निर्माण भएको नेपालीले कर्णाली रैवारसँग भने ।
सल्ली खोलाको पक्की पुलको निर्माणका लागि स्वच्छन्द कङ्ग्री निर्माण सेवासंग २०७४ साल साउन छ गतेबाट निर्माण कार्य सुरु गरेर २०७६ साल साउन १५ गते सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो ।
नौ करोड ३५ लाख ९२ हजार ३६१ रुपियाँमा निर्माण गर्ने गरि टेण्डर स्वीकृत भएको पुल स्वच्छद कांग्री निर्माण सेवाले सम्पन्न गरेर हस्तान्तरण गरेको छ । हिल्सा सिमकोट सडक योजना अन्तरगर्त सिमकोट गाउँपालिका ७ र नाम्खा गाउँपालिका १ बिचको सीमा पर्न हेप्काखोला र नाम्खा गाउँपालिका ताग्रुखोला र याङयार खोलाको पुल ठेकेदार कम्पनीहरुले अलपत्र पारेका छन ।