टीकाको साईत कति बेला ? कता फर्केर टीका लगाउने?

काठमाडौ,६ कार्तिक । दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन ।

बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । दशैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल हुनु पर्दैन ।

त्यति हुँदाहुँदै पनि साइत नै चाहिनेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको छ । त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ ।
कता फर्किएर टीका लगाउने ?
परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।

साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर २ मिनेटमा उपयुक्त समय छ । कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन । त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ ।

अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ । त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन । जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ ।

टीका/जमराको महत्व

दशैंको टीका र जमरा दुर्गाको प्रसाद हो । पुर्खाको कीर्तिलाई कायम राख्न कृपा मिलोस् भनेर मान्यजन र ठूलाबडाबाट आशिर्वादका साथ टीका जमरा लगाइदिने गरिन्छ । कुल परम्पराको वैभव कायम रहोस् भनेर आशिर्वाद दिइन्छ । यसै सिलसिलामा इष्टजनसँग भेटघाट, भलाकुसारी लगायतका धार्मिक, सांस्कृतिक र सामाजिक आयामहरु त छँदैछन् ।

दशैंमा टीकाको जस्तै जमराको पनि आफ्नै विशेष महत्व छ । दुर्गास्थापना गरेको ठाउँमा जौ उमारेर जमरा तयार गरी त्यसलाई टीकापछि प्रसादको रुपमा ग्रहण गरिन्छ । जौ विभिन्न प्रकारको औषधीय तत्वले युक्त वनस्पती हो । ऋषीमुनीहरुले जौलाई अनेक धार्मिक काममा प्रयोग गरे । पूजादेखि पितृकार्यमा जौको प्रयोग हुन्छ । जमराको विभिन्न आयुर्वेदिक प्रयोग पनि हुन्छ । सायद औषधीय गुणका कारण जमराका लागि जौको प्रयोग गरिन्छ ।

नेपाली समाजको परम्परा आफ्नै विशिष्ठता र विशेषतायुक्त छ । ठाउँअनुसार आफ्नै खालका परम्पराहरु छन् । पूर्वी र मध्य नेपालमा पूर्णिमाका दिनसम्म टीका लगाइदिने चलन छँदैछ । पश्चिम नेपालका कैयौ ठाउँहरुमा दुर्गा विसर्जन गरेको एक दिनमात्रै टीका ग्रहण गरौं भन्ने चलन बस्यो ।

आ–आफ्नै परिवेश अनुसार चलेका चलनलाई अन्यथा लिने कुरा भएन । एकदिन लगाउने होस् वा पाँचदिने लगाउने चलन होस्, दुवैका आ–आफ्ना विशेषता छन् । पछिल्लो समय त यी चलनहरु एक आपसमा सम्मिश्रण हुँदै गइरहेका छन ।

(अन्लाइन खबर बाट )