बालबालिकाको खाजा खोसेर शिक्षकलाई तलब

सरकारले सामुदायिक विद्यालयका बालबालिकालाई दिवाखाजाको व्यवस्था गरेको छ, तर हुम्लाको सर्केगाडस्थित देवल आधारभूत विद्यालयले दैनिक २० रुपैयाँका दरले १५० विद्यार्थीले पाउने खाजा रकम शिक्षकको तलबमा खर्चने गरेको छ

भूकम्पले चर्किएको जीर्ण भवनको भुइँमा बसेर पढ्छन् विद्यार्थी

हुम्लाको सर्केगाड गाउँपालिका– १ तुम्चस्थित भूकम्पले चर्किएको विद्यालय भवन पनि जीर्ण छ । जस्तापाताले छाएको छ । डेक्सबेन्च पनि पर्याप्त छैनन् । धेरैजसो विद्यार्थी ढुंगामा काठको फल्याक बिछ्याएर पढ्छन् । ‘चिसो भुइँमा बसेर पढ्नुपर्छ,’ कक्षा ८ मा अध्ययनरत शर्मिला रावतले भनिन्, ‘कक्षाकोठाका भित्ता पनि चर्किएका छन् । पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठामा ताल हुन्छ ।’ कक्षा ६ मा अध्ययनरत यामराज जैसीले भने, ‘राम्रोसँग बसेर पढ्ने कक्षाकोठा पनि छैन ।’ कक्षा ८ का समराज कटुवालका अनुसार कक्षाकोठामा ढुंगा, काठको फल्याक बिछ्याएर पढ्नुपर्छ, त्यो पनि  सबैले पाउँदैनन् । सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख शाहीले विद्यालय भवन मर्मत र डेक्सबेन्चका लागि गाउँपालिकाले पहल गर्ने बताए । ‘तर पालिकाले भवन निर्माण गर्न सक्ने अवस्था छैन । पालिकाभर ३२ विद्यालय छन् । संघसंस्था वा प्रदेश, संघ सरकारले अनुदान दिएपछि सम्भव हुन्छ,’ उनले भने ।

हुम्लाको सर्केगाड गाउँपालिका– १ तुम्चस्थित देवल आधारभूत विद्यालयले विद्यार्थीको दिवाखाजाको साढे पाँच लाख बजेटबाट तीन शिक्षक राखेको छ । विद्यार्थीले दिवाखाजा पाउँदैनन् ।

विद्यालयले दिवाखाजा कटाएर निजी स्रोतका शिक्षक चक्र मल्ल, रूपबहादुर शाही, दीपेन्द्र बमलाई राखेको हो । सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि (हुम्लासहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपैयाँ) खाजाबापत रकम दिन्छ । सरकारले विनियोजन गरेको रकम पालिकामार्फत विद्यालयको खातामा जान्छ ।

सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख वीरजंग शाहीका अनुसार देवलमा कक्षा ६ सम्मका एक सय ५० बालबालिकाको दिवाखाजाका लागि दैनिक २० रुपैयाँका दरले वार्षिक पाँच लाख ५० हजार आठ सय बजेट जान्छ । दिवाखाजा बजेट वार्षिक एक सय ८० दिन मानेर निकासा हुन्छ । विद्यालयमा  १ देखि ६ कक्षासम्म एक सय १९  र  बालविकास केन्द्रमा ३४ बालबालिका छन् ।

शिक्षा शाखा प्रमुख शाही बालबालिकाका लागि छुट्याइएको दिवाखाजा कटाएर शिक्षक पाल्न नपाउने बताए । तर, प्रधानाध्यापक रावतले कक्षा ८ सम्म सञ्चालन गर्न शिक्षक अभाव भएपछि निजी स्रोतमा शिक्षक राखेर चलाउन दिवाखाजाको पैसा प्रयोग गरिएको बताए । ‘अभिभावकले कक्षा ८ सम्म पढाइदिन भन्नुभयो । तर, शिक्षक दरबन्दी ३ जना मात्र छ । निजीमा शिक्षक राख्न अन्य स्रोत नभएकाले खाजाको पैसा प्रयोग गरिएको हो,’ उनले भने ।

स्कुल खुल्छ, शिक्षक गयल 
२४ भदौ, आइतबार सार्वजनिक बिदा थिएन । तर, सर्केगाड गाउँपालिका–१ तुम्चमा रहेको देवल आधारभूत विद्यालयमा दिउँसो १२ बजेसम्म पढाइ नै सुरु भएन । नयाँ पत्रिकाकर्मी विद्यालय हाताभित्र पुग्दा विद्यार्थी चौरमा खेलिरहेका थिए । प्रधानाध्यापकसहित ६ जना शिक्षक रहेको यो विद्यालयमा अपराह्नसम्म शिक्षक नआएपछि कार्यालय सहयोगी केवल सुनारले पालैपालो विद्यार्थीको हाजिर गरेर घर पठाइदिए । ‘सरहरू दिउँसोसम्म आउनुभएन, हेड सरलाई फोन गरेर सोध्दा ‘हाजिर गरेर पठाइदिनू’ भन्नुभयो,’ सुनारले भने, ‘मैले पनि हाजिर गरेर पठाइदिएँ ।’

कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीले आफू बिहान साढे ९ बजे विद्यालय पुगे पनि पढाइ नभएपछि फर्किएको बताए । ‘सरहरू आए पढाइ हुन्छ, नत्र हाजिर लगाएर घर फर्किन्छौँ,’ उनले भने ।

२४ भदौमा वर्षाको बहाना बनाएर शिक्षक उपस्थित भएका थिएनन् । तर, विद्यार्थी भने रुझ्दै विद्यालय पुगेका थिए । ‘हामी गयल भए ५० रुपैयाँ जरिवाना तिर्नुपर्छ । त्यही भएर हाजिरकै लागि भए पनि स्कुल आउँछौँ,’ कक्षा ८ का एक विद्यार्थीले भने, ‘सरहरू नआउँदा  कसले जरिवाना गर्छ र ? ’

तर, प्रधानाध्यापक कालीबहादुर रावतले भने, ‘बाटो अप्ठेरो छ । दुई घन्टा हिँड्नुपर्छ । त्यो दिन पानी परेकाले म आउन नसकेको हो ।’ अरू शिक्षक विद्यालयको कामले पनि आउन नसकेको हुन सक्ने उनले बताए । तर, २४ भदौमा यहाँ बिहान एकछिन मात्र पानी परेको थियो ।

देवलमा प्रअ रावतसँगै शिक्षकहरू मदन बुढा र नन्दप्रसाद यादव स्थायी दरबन्दीका शिक्षक हुन् । नन्द एक महिनादेखि बिदामा छन् । शिक्षक चक्र मल्ल, रूपबहादुर शाही र दीपेन्द्र बम निजी स्रोतका शिक्षक हुन् ।

कक्षा ८ सम्म पढाइ हुने, दुई सय २० विद्यार्थी रहेको यो विद्यालयमा पढाइ नहुने घटना नौलो होइन । कक्षा ७ का एक छात्राका अनुसार यो विद्यालयमा वार्षिक परीक्षा दिउन्जेलसम्म कहिल्यै कोर्स सकिँदैन । ‘कहिलेकाहीँ मात्र पढाइ हुन्छ, सरहरू कहिले घरमा काम पर्‍यो, कहिले सदरमुकाम जानुपर्‍यो  भनेर गयल हुनुहुन्छ,’ उनले भनिन्, ‘हामी मात्र स्कुल आएर के गर्नु ?’ Naya Patrika Daily