कर्णाली नदी वारपार गर्न हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँका बासिन्दा पनि तुइनकै भर पर्नुपरेको छ । दैनिक कामकाजका लागि नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाले बनाएको काठेपुल कर्णालीले बगाएपछि पाँच वर्षदेखि तुइनबाटै वारपार गर्दै आएका छन् । ‘घाँस, दाउरा, खेतको काममा जाँदा तुइनबाटै आवतजावत गर्छौँ,’ स्थानीय गो-या फडेराले भने ।
उनीहरू घाँस, दाउराको भारीलाई पनि तुइनबटै तार्छन् । पिठ्युँमै भारी बोकेर ओहोदोहोर गर्दै आएको अर्का स्थानीय बासिन्दा वीरजित परियारले बताए । ‘भारी बोकेरै यताउता गर्छौँ,’ उनले भने ।
उनले अरूको सरसामान तार्न पनि सहयोग गर्दै आएका छन् । काठेपुल नदीले बगाएपछि तुइनकै भर रहेको उनले बताए । ‘गाउँलेका सरसामान तार्ने काम पनि गर्छु,’ उनले भने । कर्णाली नदीमा गिउसी भन्ने स्थानमा पुल छ । त्यहाँ पुग्न तीन घन्टा लाग्ने गरेको स्थानीय गोरे फडेराले बताए । खेतपातीका लागि कर्णालीपारि जान पनि समस्या भएको उनको भनाइ छ ।
हुम्लावासी कर्णाली नदीका विभिन्न स्थानमा तुइनकै भर पर्दै आएका छन् । स्थानीय बासिन्दाका अनुसार एक दर्जनभन्दा बढी स्थानमा तुइनको प्रयोग हुँदै आएको छ ।
नरजन तामाङ । १ माघ २०७५, मंगलवार २१:४९