लघुकथा: मिस्त्रीदाइ

नवराज न्याैपाने ‘माैन’

‘मिस्त्रीदाइ! आज पन्ध्रपुष हाे, हाम्राे घरमा खाना खान आऊ है बेलुका ।’ मैले धारामा भेट्दा भनेकी थिएँ ।
‘ हुन्छ बहिनी! आज पल्लाे गाउँमा काम छ , बेलुकी फर्कन्छु ।’ यति भनेर उनी बाटाे लागेका थिए ।

साँझमा फर्कदा मिस्त्रीदाइले हातमा कुखुराकाे भाले च्यापेर आए । मैले उनलाई मनपर्ने परिकारहरु बनाएकी थिएँ । त्यसमाथि भालेकाे तिख्खर मीठाे सुपले माहाैल नै तातिएकाे थियाे ।

मेरा बाआमा पनि मिस्त्रीदाइलाई असाध्यै माया गर्नुहुन्छ । उनी यहाँ बस्न थालेकाे बाह्र वर्ष भयाे । सडक,खानेपानी,पुल,बिजुलीकाे कामका अलावा खेतीपाती, घाँसदाउरा र घरायसी सबै काम गर्न सिपालु उनी पहिले कुशल खेलाडी थिए रे ।

उनी लछुमन ठेकेदारकाे मनपर्ने व्यक्ति हुन् । मिस्त्री,सुपरभाइजर र चाैकीदार भएर काम गरिरहेका उनी उनी किन घर गएनन् भन्ने कुरा लछुमन ठेकेदारबाट मैले सुनेकी थिएँ । अनि उनकाे डायरी मागेर पढेपछि मलाई उनीप्रति दया जागेर आयाे ।

म एउटा गाेडा नभएकी अपाङ्ग  केटी । बाबाआमा र मावलीले मलाई पढाए । पढाइ सकेर गाउँमा सानाे पसल र हाेटल खाेलेर बसेकी म चालीस वर्ष पुग्दासम्म अविवहित छु । मलाई कताकता मिस्त्रीदाइप्रति मायाभाव जागेर आएकाे छ ।

मिस्त्रीदाइ साेझाे भएकाे कारण उनकी श्रीमतीले उनलाई असाध्यै दु:ख दिइन् । खानेकुरामा स्लीपिङ ट्याबलेट र लठ्याउने दबाई मिसाएर खुवाउने, सुतेपछि बेहाेश बनाउने सुई ट्राङक्वीलाइजर र बेहाेश बनाउन सुघाउने एनेस्थेसिया आदि प्रयाेग गरेर आफ्नाे याैनसाथीलाई बाेलाउने गर्न थालेपछि उनी दशैंमा मात्र घर जान्थे । तर दशैंमा पनि त्याे क्रम नराेकिएकाे र श्रीमतीले जाँदा आउँदा पैसा खर्च हुन्छ नआउनु अब भनेर थर्काएपछि उनी कहिल्यै घर गएनन् ।

याे हिमाली बस्तीकाे चिसाे हावापानी उनलाई मन पर्छ। सदरमुकाममा जागिर खाएकाे बखत उनकी श्रीमती आउने दिन लेखापालले पाँच छ पटक बिना काम  फिल्डमा बाेलाएकाे छ तुरुन्तै जानू भनेर पठाउने गरेकाे थियाे । भाेलिपल्ट सदरमुकाम पुग्दा उनकी श्रीमती फर्कीसकेकी हुन्थिन् । त्यसैले  विरक्त भएर उनी जागिर छाेडेर लछुमन ठेकेदारकाेमा काम गर्न थालेका थिए ।

जसले जे भने पनि पत्याउने, जसले जे अह्राए पनि मान्ने र जसले जति षड्यन्त्र बुनेर फकाए पनि विश्वास गर्ने उनकाे बानीले उनकाे जिन्दगी नै तहसनहस बनाएकाे थियाे ।  यस बीचमा उनले  नाै दस पटक आत्महत्याकाे असफल प्रयास पनि गरेका थिए । लछुमन ठेकेदार,म र गुम्बाकाे लामा मिलेर उनलाई मनाेपरामर्श दिइरहेका छाैं  ।

माघेसंक्रान्तिकाे दिन मैले उनलाई घरेलु उनबाट आफै्ंले बुनेकाे सुइटर,गलबन्दी,टाेपी र पञ्जा उपहार दिएँ । उनले सदरमुकाम जाँदा राताे लेडिज ज्याकेट किनेर मलाई  उपहार दिए ।

अनि आँसु खसाल्दै भनेका थिए-‘ किपल बहिनी! मान्छे घृणाले मर्दा रहेछन् र प्रेमले बाँच्दा रहेछन् ।’

मातातीर्थ, काठमाडौं
२०८०/२/१२