पिकलबल प्रतियोगिता: नेपाली टोली सिक्किम प्रस्थान

काठमाडौ,११ जेठ  । पछिल्लो समय  बिश्वब्यापी चर्चा कमाएको पिकलबल खेल खेल्नका लागि नेपाली टोलि भारत प्रस्थान गरेको छ ।

खेलमा सहभागी हुन १५ खेलाडी सहित २२ जनाको नेपाली टोली  बुधबार सिक्किम प्रस्थान गरेको हो ।

जेठ १३ र १४ गते सिक्किमको पाकयोङ्गमा आयोजना हुने सिक्किम ओपन पिकलबल च्याम्पियनसिपमा सहभागी हुन नेपालीटोली सिक्किम प्रस्थान गरेको खेलाडी जनक फडेराले बताए ।

नेपाली टोलीलाई पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारी र विशाल मिलन केन्द्रका अध्यक्ष हरी अधिकारीले शुभकामना सहित जर्सी हस्तान्तरण गरेर बिदाई गरेका थिए ।

न्यु लक्ष्मी ज्वेलर्स युके र थ्रेड गार्मेन्टले खेलाडीहरुलाई जर्सी तथा खेल सामाग्री सहयोग गरेको छ। समाजसेवी तथा न्यु लक्ष्मी ज्वेलर्स युके कि संचालिका लक्ष्मी राईले नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धनमा प्रतिबद्ध रहेको बताइन्।

बिश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ। पिकलबल एशोसियसन नेपालले गत मार्चमा काठमाडौंमा टुर्नामेन्ट आयोजना गरेको थियो। जसमा विभिन्न देशका ५ दर्जन बढी खेलाडीहरु सहभागी थिए भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ विधामा गोल्डमेडल जितेको थियो। यसैगरी पिकलबल एशोसिएसन नेपालले मार्च २०२४ मा काठमाडौंमा अन्तर्राष्ट्रिय टुर्नामेन्टको तयारी गरिरहेको र उक्त टुर्नामेन्टमा वर्ल्ड च्याम्पियन सहित दुई दर्जन बढी देशका खेलाडीहरु सहभागी हुने पिकलबल एशोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले जानकारी दिए।

विभिन्न शैक्षिक संस्था तथा स्थानीय क्लबहरुको सहकार्यमा पिकलबल एशोसिएसन नेपालले नेपालमा पिकलबल खेलको विकास तथा प्रबर्द्धन गर्दै आइरहेकोछ।