ताप्लेजुंगमा चढ्दा महिला काठमाडौंमा ओर्लिंदा पुरुष !

काठ्माडौ,८ चैत । ताप्लेजुङबाट सोमबार नेपाल वायुसेवा निगमको ट्वीनअटर विमानमा चढेकी महिला यात्रु काठमाण्डौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्दा पुरुष भएको अनौठो घट्ना भएको छ।

विमानले बिहान ७ः४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण गरेको थियो। क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले उडाएको उक्त विमानमा १० महिला र ५ पुरुष रहेको लोडसिट पेपर दिईएको थियो। तर, ४५ मिनेटको उडानपछि काठमाडौं आइपुग्दा जहाजमा ९ महिला र ६ पुरुष देखिए।

चालकदललाई तौलमा पनि शंका लागेपछि जहाजको अगाडि र पछाडिको भागमा रहेको कार्गो कम्पार्टेन्टमा राखिएका यात्रुहरूको सामानको पनि पुनः तौल गरियो। तौल जाँचमा लोडसिट पेपरमा लेखिएको भन्दा १८ किलोग्राम फरक देखियो। तर, यो विषय नियमनकारी निकायलाई जानकारी नगराई गुपचुप राखियो । यद्यपी उक्त कुरा नागरिक उड्डयन प्राधिकरणमा चुहियो। लेखिएको भन्दा बढी तौल र पुरुषलाई महिला बनाइएको घटनाको उजुरी परेपछि ७ जनालाई कारवाही गरिएको छ।

प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्याडर्ड विभागले उक्त उडानका चालकदल, परिचारिका, ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख, काठमाडौं विमानस्थलस्थित आन्तरिक उडानमा कार्यरत फ्लाइट डिस्प्याचरसहित ७ जनालाई ग्राउन्डेड गरेको हो। ट्वीनअटरले लोडसिटमा भन्दा अतिरिक्त भार बोकेको र एक पुरुष यात्रुलाई महिला बनाई उडाएको विषयमा कारबाही गरिएको प्राधिकरणले जनाएको छ। जहाजमा सामान र यात्रुको तौल फरक पारी आर्थिक हिनामिना गरेको र जहाजको भारवहन क्षमताभन्दा बढी लोड बोकेर दुर्घटनाको जोखिम निम्त्याएकाले उनीहरुलाई कारवाही गरिएको जनाईएको छ।

ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख लोकेन्द्र लिम्बूलाई बुधबार काठमाडौं झिकाएको छ । ताप्लेजुङमा रहेको निगमको कार्यालयले लास्ट मिनेट चेन्ज (एलएमसी) अन्तिम समयमा एक जना यात्रुलाई समेट्दा पुरुषको महिला हुन गएको भनेको छ । नेपालको दुर्गम उडानमा जहाजहरूले पुरुषको औसत तौल ७५ र महिलाको तौल ६५ किलोग्राम मानेको छ । यसैका आधारमा वायुसेवा कम्पनीले जहाजको कार्गो थपघट गर्न पाउँछन ।