हम्ला– स्थानीय तहका जनप्रतिनिधि ‘संघीयता अवलोकन अध्ययन भ्रमण’का नाममा लाखौँ रुपैयाँ खर्चेर घुमघाममा निस्कन थालेका छन । केही स्थानीय तहका जनप्रतिनिधिले घुमघाम गरिसकेका छन भने केही भर्खरै निस्केका छन । सिमकोट गाउँपालिकाको टोली ‘संघीयता अवलोकन अध्ययन भ्रमण’ नाम दिएर बुधबार भ्रमणका लागि निस्केको छ । गाउँपालिका अध्यक्ष पदम लामाको नेतृत्वमा २० सदस्यीय टोली भ्रमणमा गएको हो । यो भ्रमण टोलीमा जनप्रतिनिधि र कर्मचारी सहभागी छन् । गाउँपालिका स्रोतका अनुसार, यो भ्रमणका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ ।
गाउँ कार्यपालिकाको निर्णयका आधारमा भ्रमणमा गएको प्रमुख प्रशासकीय अधिृकत अर्जुन दर्जीले बताउनुभउयो । ‘त्यत्तिकै घुम्न निस्केका होइनन । कार्यपालिकाको निर्णयले नमुना नगरपालिका र गाउँपालिकाको भ्रमणमा जान लागेका हौँ,’ प्रमुख प्रशासकीय अधिकृत दर्जीको भनाई रहेको छ ।
सिमकोटको ‘संघीयता अवलोकन अध्ययन भ्रमण’ टोली बिहीबार चितवनको रत्नगर पुगेको छ । त्यसपछि धरानको भेडेटार घुम्ने कार्यक्रम तय गरिएको छ । भ्रमण टोलीमा सहभागी एक सदस्यका अनुसार धरानपछि झापाको मेची नगरपालिका हुँदै इलाम पुग्नेछ । इलामको कुन स्थानीय तहमा पुग्ने भन्ने तय भएको छैन । इलामपछि लमजुङको घलेगाउँ होमस्टे पुग्ने कार्यक्रम रहेको छ ।
गाउँपालिका अध्यक्ष लामा, प्रमुख प्रशासकीय अधिकृत दर्जीसहित २० जनाको टोली भ्रमणमा गएपछि गाउँपालिकाको कामकाज ठप्प भएको छ । बुधबारदेखि नै गाउँपालिकाको कामकाज प्रभावित भएको एक कर्मचारीले बताए । ‘सबै भ्रमणमा गएपछि कसरी काम हुन्छ ?’ उनले भने । भ्रमण टोलीमा सबै वडाका अध्यक्षहरू सहभागी छन । त्यस्तै, गाउँपालिका आठै वडा हेर्ने वडासचिव धर्मराज रोकाया,पनि भ्रमण गएपछि दैनिक रुपमा हुने मृत्यु दर्ता,जन्मदर्ता, विवाह दर्ताको काम समेत रोकिएको छ ।
योजना फाँटका अजिर रोकाया, लेखापाल प्रयोगलाला जैसी, स्टोरपिकर ममता महत, कार्यालय सहयोगी कृष्णा रोकाया र धनराशी रोकाया भ्रमणमा निस्केका हुन ।
सिमकोट गाउँपालिका आर्थिक र विकास सम्झौताका सम्पुर्ण कामहरु रोकिएका छन । गाउँपालिकाले एक जना निमिक्त कार्यालय प्रमुखका रुपमा कर्मचारी जंग रोकायालाई राखेको छ । आर्थिक तथा विकासका गतिवीधीका कुनै पनि जिम्मा आफुलाई नदिएको निमित्त कार्यालय प्रमुख जंग रोकायाले बताए ।
नाम्खा गाउँपालिकाको टोली पनि १४ लाख विनियोजन गरेर ‘कृषि अवलोकन भ्रमण’मा निस्केको छ । नाम्खाको टोली सोलुखम्बु र इलाम हिँडेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम नेपालीले बताउनुभयो । ‘कृषि अवलोकन गर्न जनप्रतिनिधिको टोली गएको हो,’ उनले भने । १० पुसमा नाम्खाको टोली भ्रमणमा गएको हो । टोलीमा १६ जना सहभागी छन । उनीहरूले छुर्पी उत्पादन केन्द्र अवलोकन गर्ने जनाइएको छ । हुम्लाका अन्य तीन स्थानीय तहले पनि गत वर्ष नै भ्रमणका लागि लाखौँ खर्च गरेका छन । यो वर्ष पनि उनीहरूले अवलोकन भ्रमणमा जाने तय गरेका छन । चंखेली गाउँपालिकाको टोली गत वर्ष नेपालगन्ज, सुर्खेत र पोखरा भ्रमणमा गएको थियो । त्यसमा १२ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ ।
नरजन तामाङ । १३ पुष २०७५, शुक्रबार १३:४९