रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३-१ ले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो ।

जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले ह्याट्रिक गरे । रियाल मड्रिडले अब शनिवार हुने फाइनल खेलमा स्थानिय टोली अल आइन फुटबल क्लबसँग उपाधि भिडन्त गर्नेछ ।

आबुधाबीको अल आइनले आयोजक देशको लिग च्याम्पियनको हैसियतले क्लब विश्वकप खेल्ने अवसर पाएको हो ।

सेमिफाइनलमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाको रिभर प्लेट फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै अल आईनले फाइनलमा ठाउँ बनाएको हो ।