सुत्केरी आमाहरूका लागि पोषण युक्तथैली कार्यक्रम प्रभावकारी बन्दै

सिमकोट गाउँपालिकामा सुत्केरी आमाहरूका लागि पोषण युक्तथैली कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

हुम्ला । सिमकोट गाउँपालिकामा सुत्केरी आमाहरूका लागि पोषण युक्तथैली कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७९।०८० का लागि छुट्याइएको १० लाख विनियोजित वजेटबाट सुत्केरी आमाहरूलाई पोषण युक्तथैली कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्दै गएको हो ।

“अध्यक्ष उपाध्यक्ष ल्याउदैछन कोसेली, गर्भवती सुत्केरीको हातहातमा पोषण युक्त थैली” भन्ने नाराका साथ सदरमुकाम सिमकोट समेत रहेको सो गाउँपालिकाले यो कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ । विहिबार सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएकी सुत्केरी आमाहरूलाई सुत्केरी भए बापतको पौष्टिक आहारा दिने सामग्रि प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

उनले भने “सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका जिल्ला अस्पतालमै सुत्केरी भएका ४८ जना महिलाहरुलाई सो सामग्रि हस्तान्त्रण गरिएकाे छ ।” गाउँपालिकाको आर्थिक सहायतामा सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै उनिहरूको स्वास्थ्य तन्दुरुष्ट बनाउनुका साथै घरमै सुत्केरी हुनेको संख्यालाई पनि न्युनिकरण गराउने उदेश्यका साथ यो कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न लागिएको संयोजक भण्डारीको भनाई छ ।

गत साउनदेखि पुस महिनाको अन्तिम सातासम्म जिल्ला अस्पतालमा आएर सुत्केरी भएकी सुत्केरी आमाहरूलाई पाँच केजि रातो चामल, आधा माना घियु, एक क्यारेट अण्डा, एउटा तौलिया, पाँच पोका तेल, दशवटा साबुन, एउटा नङकट र एक सेट मन्जन बुरुष वितरण गरिएको थियो । उक्त कार्यक्रम मार्फत महिलाहरूलाई एउटा एउटा पाल पनि वितरण गर्ने भनिएको छ । पाल भने हवाई ढुवानी समस्याकै कारण जिल्ला बाहिरबाट आयत हुन सकेको छैन । जिला बाहिरबाट ढुवानी भए लगतै हस्तान्त्रण गरिने भएको छ ।

त्यस्तै यस अघि माघ १७ गते सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्यचौकीमा आठ, सामुदायीक स्वास्थ्य इकाई चौगानफयामा सात र वडा नम्वर ८ को स्याँडा स्वास्थ्यचौकीमा २४ जना सुत्केरी आमाहरूलाई उक्त पोषण युक्तथैली वितरण गरिएको थियो ।