अरु नेताहरु जस्तो मौनता साँधेर बाटो लाग्न विकल्प थियो। तर, रविले त्यसो गरेनन्। सवालको सामना गर्न पनि सकेनन्। फैसलापछिको शून्यताबाट गुज्रिरहेका उनी हरेक प्रश्नको छोटो उत्तरपछि भन्थे– यो प्रश्नको उत्तर म के दिउँ?
आफू ‘नागरिक नरहेको’ महसुस गर्दै उनले पूर्वबिरादरीवालातिर फर्केर भने, तपाईंले अनागरिकलाई प्रश्न सोधिरहनुभएको छ। तिखो प्रश्नबाट पहिचान बनाएका उनलाई अर्को प्रश्न पनि आइहाल्यो, ’यसअघि नेपालको गृहमन्त्री हुनुहुन्थ्यो नि!?’
लामिछानेले आफू यतिखेर ‘अनागरिक’ रहेको भन्दै प्रश्न नगर्न भने। सर्वोच्चको फैसलालाई भने स्वागत गर्दै स्वीकार गर्ने बताए।
नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनिसकेका रवि केही समयअघि नातेदार भिसामा नेपाल आएका थिए। सुरुमा अमेरिकी नागरिककै रुपमा सञ्चारकर्ममा सक्रिय रहेका उनले विवाद सुरु भएपछि अमेरिकी नागरिकता त्यागे।
२०५० सालमा लिएको नेपाली नागरिकता नत्यागेका उनले त्यसैबाट नेपालीराहदानीसमेत बनाएर ‘नेपाली नागरिक’ सरह नेपालमै सक्रिय थिए।
टेलिभिजनमा उनले छोटो समयमै चर्चा कमाए। उनको चर्चा त्यसपछि ब्यापक भयो, जब वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’बाट विदा गरे। ०७३ साउन १९ गते प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा एनटिभीको उक्त कार्यक्रमबाट रवि निकालिएका थिए।
प्रचण्ड प्रधानमन्त्री हुनुअघि केपी शर्मा ओलीको सरकार थियो। ओली प्रधानमन्त्री हुँदा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम रविले चलाएका थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि भने प्रस्तोता फेरिए। रविले चलाइरहेको कार्यक्रम माओवादी केन्द्र निकट पत्रकारले सञ्चालन गरे।
२०७३ असोज ५ गते रविले त्यही ‘ब्रान्ड’ क्यास गर्दै नयाँ कार्यक्रम ‘सिधा कुरा जनतासँग’ ल्याउने घोषणा गरे। त्योबेला प्रचण्डलाई लक्षित गर्दै उनले रोष प्रकट गरेका थिए। आफूलाई कार्यक्रमबाट निकालिनुको कारण सोध्न रविले पटक–पटक प्रचण्डको समय मागेका थिए। तर, प्रचण्डले समय नै दिएनन्।
त्योबेला उनले भनेका थिए, ‘तपाईंलाई ५ मिनेट मात्र भेट्ने पनि हैसियत मेरो रहेनछ। धेरै कुरेँ र धेरैलाई गुहारेँ। अब कुर्न पुग्यो, प्रधानमन्त्रीज्यू (प्रचण्ड)। ठीकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्ने गरी मिहिनेत गरुँला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतीक्षा रहिरहेनछ।’
रविले त्यही रुपमा मेहनत गरे। टेलिभिजनकर्मीका रुपमा उनले ठूलो सफलता हासिल गरे। आमजनको आँखामा बस्न सफल भए। टेलिभिजनमा प्राप्त सफलतालाई उनले राजनीतिमा पुँजीकृत गर्न केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे।
आफ्नै नेतृत्वमा निर्माण गरेको उक्त पार्टीले छोटो समयमै अनपेक्षित नतिजा हासिल गर्यो। प्रतिनिधि सभामा रविसहित २० जना सांसदले उक्त पार्टीबाट प्रतिनिधित्वि गरेका छन्। यसबेलाको राजनीतिमा ‘निर्णायक शक्ति’ रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदार दल बन्यो। गृह मन्त्रालयसहित तीन मन्त्री र एक राज्यमन्त्रीपाउन सफल भयो।
आफू उपप्रधानसहित गृहमन्त्री बनेका थिए रवि। लगातार प्रगतिको उकालो लागिरहेका उनले नेपाली नागरिकता त्यागेपछि नयाँ लिन कानुनी प्रक्रिया पूरा गरेनन्। टेलिभिजनकर्ममा हुँदासमेत त्यसमा प्रश्न उठेको थियो तर उनले आवश्यक ठानेनन्। पुरानै नागरिकताबाट फेरि नेपाली नागरिक बन्दै उपप्रधान र गृहमन्त्री बनेका उनको भविष्य शुक्रबारदेखि अन्योल बनेको छ।
(नेपाल लाइभ बाट साभार )
कर्णाली रैवार संवाददाता । १३ माघ २०७९, शुक्रबार २१:०४