खानासँग विषादीयुक्त जडीबुटी खाएपछि जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी

जुम्ला,८ माघ । जुम्लाको चन्दननाथ नगरपालिका ८ रोकायाबाडामा एक जनाको मृत्यु भएको छ ।

गेडागुडीमा जडीबुटी मिसाएर खाँदा १ जनाको मृत्यु भएको हो  । तीन जना बिरामी भएका छन्।

मृत्यु हुनेमा ३५ वर्षीय दीपक रोकाया रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया र ३० वर्षीय पारस धराला बिरामी रहेका छन् । बिरामी मध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन आएका हुन ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको स्थानीय भैरबहादुर धरालाले बताए ।

उनले गेडागुडीमा हालिएको जडीबुटीमा विष परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य तीन जना होसमा आइसकेका छन् । तीन जनाको आइसियुमा उपचार भइरहेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।