पातारासी गांउपालिकाले ३५ लाख दिने

जुम्ला,५ माघ । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले ३५ लाख छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँसभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन ।

५ वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए। एमबीबीएसलगायत प्राविधिक विषयमा पढाउन सहयोग गर्न लागेको अध्यक्ष बोहोराले बताए ।

हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ‘बाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाको भनाइ छ।