सुर्खेत,३० पुस । कर्णाली प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दिएका छन् ।
पोखरेलले शनिबार दिउँसो प्रदेश सभामा पुगेर उम्मेदवारी दिएका हुन् । कांग्रेस सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल सुर्खेत क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।
सत्तारुढ गठबन्धनको भागवन्डा अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेपछि सभामुख एमालेको भागमा परेको छ ।
यसैगरी नेकपा एमाले ले कर्णाली प्रदेशको सभामुखको लागि उम्मेदवारको नाम टुंगाएको छ। शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो।
एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए।
सत्तागठबन्दन मा कर्णालीको सभामुख एमालेको भागमा परेको छ। भने उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।
सभामुखको उम्मेदवारीका लागि आज बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।
कर्णाली रैवार संवाददाता । ३० पुष २०७९, शनिबार १५:४७