काठमाडौ -प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा अभूतपूर्व विश्वास आर्जन गरेका छन्।
प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई २६८ सांसदले विश्वासको मत प्रदान गरे।
२७५ सदस्य रहेकाे प्रतिनिधिसभामा कांग्रेस टेकबहादुर गुरूङ निलम्बित छन्। आजकाे बैठकमा दुई सय ७० सांसद उपस्थित थिए। प्रस्तावको विपक्षमा दुई मत पर्यो।
प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दिए। स्वतन्त्र सांसद्हरू प्रभु साह, डा. अमरेशकुमार सिंहकाे मत पनि प्रचण्डले प्राप्त गरे।
संसदमा रहेका १२ मध्ये एक-एक सिट रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा मात्रै प्रचण्डलाई विश्वासको मत दिएनन्। नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विपक्षमा मतदान गरे।
राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डले सात राजनीतिक दल र दुई स्वतन्त्र गरी १६९ सांसदको समर्थन प्राप्त गरेका थिए।
कर्णाली रैवार संवाददाता । २६ पुष २०७९, मंगलवार २२:४४