दैलेख,२४ पुस । दैलेखको भैरवी गाउँपालिका– ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन्। शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका थिए।
विकले घरमा आगो लगाएपछि स्थानीयबासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। नरेश मजदुरीका लागि भारतमा भएकै बेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन्। त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए। श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिएका छन्।
‘शनिबार साँझ साढे ७ बजे आफ्नै दुईतले तीन कोठा भएको कच्ची घरमा नरेश विकले आगो लगाएको खबर आएको थियो। राती साढे ११ बजे स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भने।
घर जलेर करिब तीन लाख बढीको क्षती भएको बताइएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डाँगीको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।
कर्णाली रैवार संवाददाता । २४ पुष २०७९, आईतवार १६:२५