बाल विवाह अन्त्य सम्बन्धी कार्यशाला

सुर्खेत,१४ पुस । कर्णाली प्रदेशमा बालविवाह अन्त्यका लागि रणनीति निर्माण गर्न थालिएको छ । बालबिवाह अन्त्यका लागि सामाजिक विकास मन्त्रालयले उक्त रणनीति निर्माण गर्न लागेको हो । उक्त नीतिको मस्यौदामाथि आज सरोकारवालाहरुसंग प्रादेशिक परामर्श कार्यशाला मार्फत सुझाव संकलन गरिएको थियो ।               कार्यशालामा मन्त्रालयका निमित्त सचिव विनोद कुमार आचार्यले कर्णालीमा बालविवाहको दर उच्च रहेको भन्दै त्यसको अन्त्यका लागि रणनीति बनाउन लागिएको बताए । उनले रणनीति कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकायसंगै सबै सरोकारवालाहरु एकीकृत रुपमा लाग्नुपर्नेमा जोड दिए । मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले बालविवाहले व्यक्ति, परिवार र समाजको विकासमा असर पारेको प्रसंग उल्लेख गर्दै समृद्ध प्रदेश निर्माणका लागि बालविवाह अन्त्य गर्नुपर्ने बताइन । बालविवाहले बहुआयमिक समस्या निम्त्याउने भन्दै ज्ञवालीले यसको अन्त्यका लागि एकीकृत रुपमा काम गर्ने रणनीति निर्माण गर्न लागिएको बताइन ।              प्लान इन्टरनेश्नलसंगको सहकार्य बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको समन्वय सहजीकरणमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यशालामा रणनीतिको मस्यौदामाथि छलफल गरिएको हो। छलफलमा सहभागीले कर्णालीको परिवेश,अवस्था अनुसारको रणनीति हुनुपर्नेमा जोड दिएका छन् । उक्त रणनीति अनुसार २०७९ देखि २०८७ सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्य लिइएको छ ।