किशोरी आमालाई शिशु हुर्काउनै सकस

बिहे गर्ने उमेर नहुँदै आमा, अधिकांशमा स्वास्थ्य समस्या

अगेनोछेउमै बसिरहेकी १५ वर्षीया दूधकली सार्की दुईवर्षे छोरालाई सुताएर १३ दिने शिशुलाई आगोले सेक्दै थिइन् । दुईवर्षे छोरा नछोडेपछि गोठमै ल्याएको बताउँदै उनले भनिन्, ‘चिसो छ, ओड्ने, ओछ्याउने प्रशस्त छैनन् । गोठमा दुई बच्चाको हेरचाह गर्न गाह्रो भयो ।’

सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँकी दूधकलीलाई एक साताअघि गोठमै भेट्दा सकस भएको बताइन् । तीन वर्षअघि बिहे गरेकी उनले सानैमा बच्चा पाउँदा के गर्ने, के गर्ने मेसो नपाउने नसकेको अप्ठ्यारो सुनाइन् । ‘सानैमा बच्चा जन्माइयो, झनै बोझ थपियो,’ उनीले थोरै मात्रै बोलिन् ।

उनलाई सन्चो पनि छैन् । कहिले ढाड दुख्छ, कहिले तल्लो पेट दुख्छ । कहिलेकाहीँ रिंगटा पनि लाग्ने गरेको बताउँदै दूधकलीले भनिन्, ‘सानै उमेरमा विवाह गर्दा समस्या आएको त होला ।’ आर्थिक अवस्था कमजोर भएकाले पोसिलो खानेकुरा पनि छैन । सुत्केरी हुँदासमेत मुस्किलले भात खान पाएको उनले सुनाइन् । उनका श्रीमान् गोरे भारतमा मजदुरी गर्छन् ।

गाउँभरि किशोरी आमा
सर्केगाड–३ रिपगाउँकी विमला बोहराको कक्षा १० मा पढ्दै गर्दा बिहे भयो । बिहे गरेको एक वर्षमै आमा बनेकी १४ वर्षीया विमलाले घरधन्दा भ्याउनै मुस्किल भएको बताइन् । ‘बच्चा हेर्ने कि घरको काम गर्ने थाहै हुँदैन । के गराँै, के नगरौँ हुन्छ,’ उनले भनिन् ।

घरको सबै काम आफैँले गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘खाना पकाउने, खुवाउने, भाँडाकुँडा माझ्ने बुहारीले नै गर्नुपर्छ भन्छन् । घासपात पनि गर्नै पर्याे । आपते हुने रै’छ,’ विमलाले भनिन् । विमला मात्रै होइन, गाउँभर किशोरी आमा थुप्रै छन् । उनीहरूको स्कुल पढ्दापढ्दै बिहे भएको हो । कक्षा १० मा पुग्दा अधिकांशको बिहे हुने गरेको विमलाले बताइन् । ‘गाउँमा बिहे नगरेका कोही छैनन्, बिहे गरेको दुई÷तीन वर्षमा बच्चा नभए राम्रो मान्दैनन्,’ उनले सुनाइन् ।

सर्केगाड–७ स्थित सूर्यतारा आधारभूत विद्यालयका शिक्षक गौरबहादुर ऐडीले अधिकांशको स्कुलको पढाइ नसक्दै बिहे हुने गरेको बताए । ‘गरिब छन् । खानलाउन गाह्रो हुन्छ, लेखपढ गराउन कसले सोच्छ र,’ शिक्षक ऐडीले भने । यहाँका सबै किशोरकिशोरीको २० वर्ष नपुग्दै बिहे हुने गरेको उनले बताए ।

आमाको स्वास्थ्यमा समस्या
गाउँका अधिकांश किशोरी आमामा स्वास्थ्य समस्या रहेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । उमेर नपुग्दै बिहे गर्ने भएकाले आमा र बच्चा कुपोषित हुने गरेको उनको भनाइ छ । ‘बच्चाको कम तौल हुने, आमालाई रक्त अल्पता हुने, आङ खस्ने गरेका समस्या रहेका छन्,’ संयोजक धामीले भने । उमेर नपुग्दै बिहे गर्ने क्रम रोक्न गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । बालविवाह र कम उमेरमै सुत्केरी हुने जिल्लाभरिकै समस्या भएको उनको भनाइ छ ।