हुम्ला सडक सञ्जालसँग जोडिन १३ किलोमिटर बाँकी

हुम्ला- विकट हिमाली जिल्ला हुम्लालाई सडक सञ्जालसँग जोडिन कर्णाली करिडोरअन्तर्गतका विभिन्न खण्डको निर्माण कार्यले तीव्रता पाएको छ ।  हिल्सा सिमकोट खण्डको च्याछहरा खण्ड सिमकोट सल्लीसल्ला खण्डको बोक्चे गौडा खण्डको निर्माण कार्यलाई तीव्रता दिइएको हिल्सा सिमकोट योजना कार्यालयले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने एक सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्रयाक नेपाली सेनाले खोलेको छ । कालिकोटको खुलालुदेखि हुम्लाको सल्ली सल्लासम्मको एक सय २२ किलोमटिर सडक ट्रयाक खुलेको नेपाली सेनाले जनाएको छ । ट्रयाक खुलेसँगै गाडी गुड्न थालेको छ ।

सेनाले जिम्मा लिएको उक्त खण्डअन्तर्गत अब छिट्टै सरकारले जिम्मा लगाउने तयारी रहेको जनाएको छ । बाँकी सल्लीसल्लादेखि हुम्लाको सिमकोटको छारेखण्ड र च्याछहराखण्डको बाँकी काम सिमकोट हिल्सा सडक योजनाले लिएको छ ।

सिमकोट हिल्सा सडक खण्ड साढे ६ वर्षसम्म डेढ किलोमिटर चट्टान छिचोल्ने अल्झिएको कामले पनि तीव्रता  पाएको छ । डेढ किलोमिटर चट्टान छिचोल्न जयन्ती ऐडी जेभीसँग हिल्सा सिमकोट योजनाले चारपटक म्याद थप गरे पनि हुम्लाको उत्तरी नाका चीनसँग जोड्ने योजना अधुरै रहेको थियो ।  च्याछरा सडकखण्ड निर्माणका लागि ०७२ साल मंसिर १० गते हिल्सा–सिमकोट योजना  र  श्री जयन्ती एडी जेभीसँग ठेक्का सम्झौता भएको थियो । अब  छिट्टै ट्रयाक खुल्ने हिल्सा–सिमकोट  सडक योजनाका प्रमुख विष्णुदास लामाले जानकारी दिए ।

‘ठेकेदारलाई ताकेता लगाएको छु । अब छिट्टै च्याछहरा खण्डको काम सकिन्छ’, सडक योजना प्रमुख लामाले नयाँ पत्रिकासँग भने ।  यस्तै, सिमकोटदेखि छारे सल्लीसल्ला खण्डको १३ किलोमिटर ट्रयाक खोल्ने काम पनि तीव्र रूपमा अघि बढेको र छिट्टै हुम्ला सडक सञ्जालसँग जोड्ने लक्ष्य रहेको हिल्सा सिमकोट सडक योजना प्रमुख विष्णुदास लामाले जानकारी दिए ।

बोक्चेगौडको कडा चट्टान छिचोलेर मेसिन पास गर्नबित्तिकै धमाधम सडकको काम हुन्छ योजना प्रमुख लामाले बताए । खापुनार्थ गाउँपालिका १ मा पर्ने  बोक्चेगैडा खण्डदेखि सल्ली दुल्लीकुनासम्म १३ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । हिल्सा सिमकोट सडक खण्डअन्तर्गत च्याछहरा खण्ड अब सामान छिट्टै आयो भने तीन महिनाभित्रै यो खण्डको काम सकिने भएको छ । Naya patrika bat