हुम्लामा राजावादीहरूको सक्रियता बढ्दै अन्य दलहरू निष्क्रिय

हुम्ला-ओलीले चालेको असंवैधानिक कदमको विरोधमा नेपालभरी राजनीतिक दलहरु सक्रिय रहेको अवस्थामा हुम्लामा भने राजावादीहरूको चहलपहल बढ्न थालेको छ । स्थानीय राजनीतिक दलहरू निष्क्रिय छन् ।

हम्लाका गाउँहरूमा स्थानीय संगठनहरुलाई सबल बनाउनुभन्दा पनि पद र प्रतिष्ठाका लागि गाउँ छोडेर प्रदेश तथा केन्द्रमा धाउन लागेको अवस्थामा भने गाउँ गाउँ र टोल टोलमा राजावादीहरू सक्रिय बन्न थालेका छन् ।

पछिल्लो समय राजावादीहरूको लागि लबिंग गरेको राष्ट्वादी नागरिक समाज नामक खुला संगठनले पनि हुम्लाको सदरमुकाम सिमकोटमा विभिन्न तह र तप्काका मानिसहरूसँग भेटघाट तथा चर्चा परिचर्चा गरिरहेको जानकारी राष्ट्वादी नागरिक समाज हुम्लामा कार्यवाहक अध्यक्ष छापे ऐडीले दिनुभएको छ ।
केही दिन अघि राजा र हिन्दु राष्ट्को नारा बोकेको सम्बद्ध पार्टीहरु सिमकोट बजार क्षेत्रमा प्रदर्शन गरेका थिए ।

हुम्लामा स्थानीय राजनीतिक दलहरू विशेषतः नेकपा सम्बद्ध दल पछिल्लो समय कुर्ची तानतान र गालीगलौज हानहान गरिरहेको अवस्थामा राजावादीहरू सक्रिय भएर रुष्ट कार्यकर्ता तान्दा गर्दा अन्य दलहरू निष्क्रिय बनेका छन् ।