आयोगको कामलाई प्रभावकारी र उपलब्धिमुलक वनाउन मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई आग्रह गर्नुभएको छ । आयोगले बुधवार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले शान्ति प्रक्रियाका वाँकी काम छिटो छिटो सम्पन्न गुर्नपर्ने वताउनुभयो ।

अहिलेको राजनैतिक परिवर्तनमा सहिद र बेपत्ता पारिएका योद्धाहरुको मुख्य भूमिका रहेको वताउदै मुख्यमन्त्री शाहीले बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयसम्म न्याय नपाउनु दुखपूर्ण रहेको वताउनुभयो । फर्केर आउने आशैआशामा वाँच्नु निकै पिडादायी हुने भन्दै मुख्यमन्त्री शाहीले बेपत्ता पारिएका परिवारजनलाई छिटो भन्दा छिटो न्याय दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले हरेक जिल्लामा गएर पीडितका कुरा सुन्न आयोगलाई आग्रह गर्नुभयो । उहाँले राजधानीमा मात्र कार्यक्रम गरेर आयोगको काम उपलब्धीमुलक हुन नसक्ने धारणा राख्नुभयो ।

बेपत्ता परिवारका धारणा सुनेर उनीहरुका समस्याहरुका बारेमा प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण भएको उहाँले वताउनुभयो । मुख्यमन्त्री शाहीले बेपत्ता परिवारको लागि राहात र परिपुरणका कामका लागि प्रदेश सरकारले आवश्यक वजेट तथा कार्यक्रमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि शिक्षा, स्वास्थ्यको निशुल्क गर्ने र रोजगारीको व्यवस्थाका लागि आवश्यक नीति बनाईने उहाँको भनाई छ ।

करार सेवामा समेत सहिद र वेपत्ता पारिएका परिवारजनका लागि प्रदेश सरकारले विशेष प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा ऐनमा पनि त्यस्तो प्राथमिकताको लागि व्यवस्था गरिने वताउनुभयो ।