ताँजाकोटको बाढी पहिरो र हाम्रो कर्तव्य

विक्रम सम्वत् २०७७ साउन ३१ गते विहान हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा बाढी पहिरो गयो । बाढी र पहिरोले ब्यापक क्षति भयो भन्ने सूचनाका आधारमा आधारभूत राहत सामाग्री बोकेर कर्नाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला¸ सामाजिक विकास मन्त्री दल रावल र योजना आयोगको कार्यवाहक उपाध्यक्ष यस पङ्तिकार बाजुराको कोल्टी हुँदै भदौ २ गते साँझ ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा पुगेका थियौँ । त्यहाँ पुग्दा पालिका अध्यक्षको निवास बाढीले पुरेको थियो भने उपाध्यक्षको निवास चर्केर बस्न नसकिने अवस्थाको थियो ।  यस पालिकामा ६¸९६५ जनसंख्या छ भने १¸२७८ घरधुरी रहेका छन् । पाँच वडा रहेको ताँजाकोटका सबै वडाका वडा अध्यक्षहरुका अनुसार पहिरोले ६११ घर उच्च जोखिममा परेका छन् । प्रायस्का घरहरु भूकम्प जाँदा देखिने घरजस्तै चर्केका र भत्केका छन् । अन्नपात पोखिएको छ । अन्न भकारी खाडलहरु पुरिएका तथा लुछेर लिएको अनुमान गरिएको छ । बाटाघाटाहरु चिरा परेका छन् । खेतवारीमा लगाएको बाली लहलह बयली खेल्ने बेला बगाएकाले खेती लाउने किसानको मन नराम्री दुखेको छ । लाइबाली पहिराले लिएकाले भोलिको चिन्ताले सबैका अनुहार मलिनो छ ।

संयोगले एक जना पनि घाइते भएनन् । ज्यान गएन । यो सुखद पक्ष हो । यो भौतिक क्षति सिन्धुपाल्चोक¸ जाजरकोट र कालिकोटको भन्दा निकै धेरै छ । मानवीय क्षति नभएकाले धेरैले सामान्य रुपमा लिएको पाइन्छ । यहाँबाट यथार्थ समाचार सम्प्रेषण तथा प्रशारण हुन पनि गाह्रो छ । हत्तपत्त फोन लाग्दैन । प्रदेश सरकारको तर्फबाट हामीले प्रारम्भिक राहत स्वरुप २७७ थान त्रिपाल¸ १५० थान कम्वल र १०० थान म्याट लिएर स्थानीय जनप्रतिनिधिलार्इ बुझायौ । यस पालिकाका जनताको सुझबुझ पनि उच्च प्रकारको छ । उनीहरुले अहिले ओत लाग्ने त्रिपाल¸ कम्बल र म्याट तथा केही भाँडाकुडा भए पुग्ने बताएका छन् । खानेपानीका धाराहरु पहिरोले लुछेर लिएकाले स्वच्छ खानेपानीको अभावमा महामारी फैलिन सक्ने चिन्ता बिसाएका छन् ।

तिनको तुरुन्तै मर्मत गर्नुपर्ने देखिन्छ । अबको दुर्इ महिनापछि भोकमरी पर्ने देखिएकाले त्यसका लागि राहतभन्दा पनि कामको लागि खाद्यान्न माग गरेका छन् । यो काम पनि¸ विकास पनि र खाना पनि पाइने सही माग हो ।
एक गाउँबाट अर्को गाउँ जाने बाटो भत्केको छ । पुरानो बाटो पुरिएको छ । कतिपय ठाउँमा पहिरो बगीरहेको छ । धाँजा परेको जमीनमा पानी पर्यो भने कमेरे माटो भएकाले सर्लक्कै पुछेर लिने खतरा अझै छ । मान्छेहरु बाढी पहिरोले राँटो छोडेका घरमा ओत लागेर खाना खाने र यसैगरी पालो गरी सुत्ने गरेका छन् । गाउँपालिकाले बाँडेको त्रिपालमुनी ओत लागेकाहरु भन्दै थिए– यो हालत कहिलेसम्म बेहोर्न पर्ने हो रु हामी पालिका भवननेर पुग्दा साँझ पर्न लागिसकेको थियो । हामीले बरण्डामा उभिएर प्रदेश सरकारको तर्फबाट गर्न सकिने सहयोग र प्रतिबद्धता सुनायौँ । जनसमुदायमा साहस भरिएको आभास भयो ।

हामीलार्इ गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढा¸ वडा अध्यक्षहरु वीरमान खड्का¸ अजमल बुढा¸ परिमल सुनार¸ धनलाल जैसी¸ बर्ख्या बुढा¸ नेकपाका स्थानीय नेताहरु शिवराज शर्मा¸ इन्द्र बुढा¸ पूर्णप्रसाद ढकाल¸ अकबीर खड्का¸ प्रदीप जैसी¸ चन्द्रप्रसाद ढकाल¸ नेपाली काँग्रेसका नेता जङ्गलाल खड्का र प्रहरी चौकीका इञ्चार्ज कमल शाह¸ रामागाउँका जेष्ठ नागरिक ज्ञानबहादुर शाही¸ शिक्षक कर्णबहादुर शाही लगायतले स्थानीय अवस्थाको जानकारी दिनुभयो । यसो त नेकपा कर्नाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी र ताँजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले काठमाडौबाट र नेकपा हुम्ला अध्यक्ष तथा त्यसै पालिकाका वासिन्दा लालकेश जैसीले सिमकोटबाट पलपल सम्पर्क गरी यहाँको सम्वेदनशीलता र सम्भावना सुनाइरहनु भएको थियो ।

अब सबैको चिन्ता र चासो सुरक्षित बस्ती विकासमा छ । बस्ती विकासका लागि बेलखाडा¸ लुइयाँटा¸ भँकारे र थर्पुमा उपर्युक्त हुने बताएका छन् । केहीले रामा गाउँ त¸ केहीले बुढाताँजा गाउँमा ठुलो बस्ती राख्न सकिने तर्क सुनाएका छन् । उतिसेनीका दलितहरुलार्इ जनता आवासमा नपारेकोमा दुस्खेसो पनि गरेका थिए । जिमानाका १७ अग्नी पीडित घरपरिवारले राहत नपाएकोमा हाम्रो बाटो छेकेर ज्ञापन पत्र बुझाए । हामीले टिपोट गर्यौ ।

राहत¸ गास र बासको व्यवस्था गर्ने प्रतिबद्धता जनायौ । यो पालिका जम्मै कमेरे बलौटे माटो भएको क्षेत्र रहेछ । यहाँको बस्ती विकासका लागि माटो परिक्षण गरेर मात्र सिफारिस गर्न सकिन्छ । यसैले स्थानीय तहका पदाधिकारी¸ राजनैतिक दलका नेताहरु र प्रहरी चौकी प्रमुखलार्इ राखी छिटोभन्दा छिटो क्षतिको एकीन गर्न सुझाव दियौ । यसका आधारमा नीतिगत निर्णय गर्न सहज हुनेछ ।
म स्मरण गर्दछु कि¸ २०७४ सालमा कर्नाली विकास आयोगबाट दिपक बुढा र मैले साविकका कर्नालीको चार जिल्ला हुम्ला¸ मुगु¸ जुम्ला र कालिकोटको सुरक्षित बस्तीसम्बन्धी अध्ययन गरेका थियौ । त्यतिखेर सुरक्षित भनिएका केही गाउँ अहिले पुरै असुरक्षित देखिएका छन् । यसैले प्राविधिक रुपमा भू–उपयोगसम्बन्धी नक्साङ्कन हुन जरुरी छ । हामीले त्यतिबेलै जाजरकोट र दैलेखको पनि अध्ययन हुनपर्ने बताएका थियौ ।

डोल्पा समय अभावका कारण पुग्न सकेनौ । त्यस समयमा ताँजाकोट गाउँपालिकाबारे वस्तुगत विवरणमा जे लेखेका थियौ¸ त्यसमा हालको अवस्था थपिएको छ ।
तालिका नं। १। ताँजाकोटको अवस्थिति र अवस्था
क्र. संं. वडा नं. गाउँ घरधुरी जनसंख्या क्षेत्रफल अध्ययन गर्दाको अवस्था हालको अवस्था वैकल्पिक स्थान लेक औल

स्रोत कर्नालीको सुरक्षित बस्तीसम्बन्धी अध्ययन प्रतिवेदन २०७४ र हालको अवस्था २०७७ ।

कर्नाली प्रदेश प्राकृतिक रुपमा जति रमणीय छ¸ उति नै मात्रामा जोखिम पनि छ । लामो समयदेखि ठुलो भूकम्प गएको छैन । करङ देखाइरहेका पहाडहरु छन् । त्यही पहाडको मुन्तिरको बस्ती तथा फाँट¸ शेरा तथा जिउलामा खेती भइरहेको छ । त्यसले नपुगेरै हो¸ जङ्गल फाँडेर कुरिल्लो ९खोरिया० खनेका छन् । यसरी भू–क्षयको अग्रीम सूचना दिने गरी जिविकोपार्जन भर्इरहेको छ । यो खुल्ला रुपमा देखिने कर्नालीको प्राकृतिक चित्र हो । यसमा वर्षेनी लगानी भएका सरकारी कार्यक्रमले दिगो विकास र मानवअधिकार कार्ययोजनामा आधारित भर्इ सम्बोधन गर्न जरुरी छ । जाजरकोटको बारेकोट¸ कालिकोटको रास्कोट जस्तै हुम्लाको ताँजाकोट लगायतका बाढी पहिरो पीडित क्षेत्रका जनताको अभिभावक भनेकै स्थानीय तह र प्रदेश सरकार हो । हामीले हाम्रा नागरिकको गास र बासको व्यवस्था गर्नु भनेकै संविधानले दिएको मौलिक अधिकार कार्यान्वयन गर्ने कर्तव्य सम्झनु हो भन्ने कुरा बुझ्नु पर्दछ ।

लेखक डा दीपेन्द्र रोकाया  कर्नाली प्रदेश योजना आयोगका सदस्य हुनुहुन्छ ।

प्रकाशित मितिः शनिबार, भदौ ६, २०७७     2:40:12 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *