हुम्लामा चोख्या पर्व धमधाम मनाईदै

हुम्ला जिल्लाको दुई गाउँपालिकामा परम्परागत मनाउदै आएको चोख्या पर्व धमधामका साथ मनाईएको छ ।  सिमकोट गाउँपालिका–८ स्याडा गाउँ र अदानचुली गाउँपालिका–६ पाल्सा गाउँका व्यासी समुदायले विशेष गरि मनाईने यो चोख्या पर्व धमधामका साथ मनाईएको हो ।

परम्परागत धार्मिक संस्कार अनुसार घरको कुल देवता, कुतिहिल्सो देवताको पुजाआजा गरी स्याडा गाउँ भन्दा आधा घण्टा माथिको चोख्या चउरमा मनाउने गरेको स्थानीय कमल बुढाले जानकारी दिए ।

देवताको पुजाआजा गरिसकेपछि चोख्या चउरमा लोपउन्मुक फुका नाच खेल्ने महिला र पुरुष २ देखि ३  मिटर टाढाबाट देउडा गाउँने चलन रहेको बुढाले बताए । घरबाट पकाएर लिएको मिष्ठान भोजन आफान्तहरुसँग बसेर खाने दिनभर रमाईलो गरी बेलुका घर फर्किने गरेको बुढाको भनाई छ । चोख्या पर्वको बेला बाहिरबाट चोख्या हेर्न आउने पाहुनाहरुलाई बोलाई बोलाई पाहुनाको स्वागत गर्न मुख्य विशेषता हो ।

यस्तै अदानचुली गाउँपालिका–पाल्स गाउँमा स्थानीयबासीहरुले पनि कैलाश मष्ठो, मदान देवताको मन्दिरमा गई भव्य रुपमा चोख्या पर्व मनाएका छन् । देवताको पुजाआजा गरी सकेपछि वर्षभरीका लागि भाकलको छिनोपानो गर्ने धामीझाक्री नचाउने देउडा खेल खेल्ने (मुकुट) बाक्टे नाच नाच्ने चलन रहेको स्थानीयहरुले बताउने गरेका छन ।

चोख्या पर्व जिल्ला भरी दुई गाउँ अदानचुली गाउँपालिका–६ को पाल्स गाउँ र सिमकोट गाउँपालिका–८ स्याडा गाउँका व्यासी समुदायहरुले प्रत्येक वर्ष मनाउदै आएका छन ।