हुम्लामा देखिए सलह किरा

हुम्लामा पनि सलह किरा देखिएको छ । मुगु हुँदै हुम्ला जिल्लाका खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाको रानीखर्कसम्म सलह किरा पुगेपछि किसान चिन्तित भएका छन् ।

सिमकोट खार्पुनाथ गाउँपालिकाका गाउँबस्तीमा कम देखिए पनि तीन हजार पाँच सय ७८ मिटरको उचाइमा रहेको नाम्खा गाउँपालिकाको रानीखर्कमा ठूलै समूहमा सलह किरा  देखिएका छन् ।

हुम्ला जिल्लाका विभिन्न बस्तीहरूमा सलह पुगेपछि मकै, कोदो, चिनो, कागुनो, धानलगायत क्षति गर्न सक्ने भन्दै किसान चिन्तित बनेका छन् ।

रानीखर्कमा सलह किरा पुगेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

रानीखर्कको ताल, चौरलगायतका स्थानमा सलह किराहरू ठूलै समूहमा भेटिएको अध्यक्ष लामा बताए । केही सलह मरेका अवस्थामा भेटिएका छन् त केही जीवित भेटिएको अध्यक्ष लामाको भनाइ छ । आकाशमा सानो झुन्डमा सलह उडिरहेको देखिने गरेकाे स्थानीयले बताएका छन् ।