ताजाँकोट गाउँपालिका–४ का ४६ धुरी दलित परिवार बाढीपहिरोको जोखिम बढेपछि घर छोडेर त्रिपालमुनि बस्न थालेका छन् । २ साउन बिहान ३ बजेतिर परेको भीषण वर्षाले ताजाँकोट गाउँपालिका–४ उतिसेनी, खर्रो, देउला गैरामा रहेको दलित बस्तीनजिकै पहिरो गएपछि उनीहरू घर छोडेर त्रिपालमुनि बस्न थालेका हुन् । उतिसेनी गाउँका २३ परिवार, खर्रो गाउँका १९ परिवार र देउला गैराका सात परिवारमध्ये ४६ परिवार त्रिपालमा ओत लागिरहेका छन् ।
ताजाँकोट गाउँपालिका उतिसेनीका अविमान सार्कीका अनुसार उतिसेनीका जयराम सार्की, रनवीर सार्की, गजेन्द्र सार्की, मानसिङ सार्कीको घरको भित्ता पहिरोले भत्काएको छ । गाउँ नै बाढीपहिरो कटानको जोखिममा परेपछि गाउँपालिकाबाट त्रिपाल ल्याएर बस्तीनजिकैको भकारे भन्ने स्थानमा बस्न थालेको उनले भनाइ छ । गाउँ बाढीपहिरोको जोखिममा परेपछि गाउँपालिका अध्यक्षलाई हारगुहार गरेपछि त्रिपाल ल्याएको उतिसेनीकी साउनी सार्कीले बताइन् । त्रिपालले पनि बर्खाको नथेगेको उनी दुखेसो गर्छिन्, ‘पानी चुहेर रातभर सुत्नै मिल्दैन । भएको जग्गाजमिन पनि बाढीपहिरोले बगाइसक्यो । अब कहाँ बस्ने होला रु’
ताजाँकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लका अनुसार उतिसेनी, खर्रो, देउला गैरालगायत बस्ती सारै जोखिममा परेका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत उनीहरूलाई घर बनाइदिने भने पनि विभेद गरेको उनको भनाइ छ । ताजाँकोट गाउँपालिकामा जनता आवासअन्तर्गत घर निर्माण गर्न भन्दै छनोट गरे पनि प्रदेश सरकारले विभेद गरेर अन्य गाउँपालिकामा कार्यक्रम लगेको उनको आरोप छ ।
जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाले जग्गा खरिद गर्न १५ लाख बजेट विनियोजित गरेको उनको भनाइ छ । तर यो बजेट नपुग्ने भएपछि जग्गा किन्ने योजना पनि रोकिएको उनले बताए ।
नरजन तामाङ । ४ श्रावण २०७७, आईतवार २२:५४