हुम्लाका सुत्केरी आमाले पाएनन् सुत्केरी पोषण कोसेली भत्ता

हुम्ला– स्वास्थ्य संस्थामा प्रसूति हुने सुत्केरीलाई पोषणबापत दिइने दुई हजार रुपैयाँ हुम्लाका सुत्केरी आमाले पाएका छैनन् । कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने सुत्केरीलाई दुई हजारको दरले सुत्केरी पोषण कोसेली दिने व्यवस्था गरे पनि सुत्केरी आमाले त्यो पाउन सकेका छैनन् ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आएबापत यातायातबापत तीन हजार, चारपटक गर्भ जाँच गरेबापत आठ सय र पोषणबापत दुई हजार रकम सुत्केरी महिलाले पाउने गरेका छन् । २२ वटा बर्थिङ सेन्टरमा यातायात बापत तीन हजार र गर्भ जाँच गरेबापत तीन हजार आठ सय पाए पनि पोषणबापत दुई हजार पाइन्छ भन्ने हुम्लाका सुत्केरी महिलालाई जानकारीसमेत छैन ।

२०७६ साउन महिनादेखि हालसम्म सुत्केरी भएका महिलाले पोषण कोसेली पाएका छैनन् ।  हुम्ला जिल्लाभरि २२ वटा बर्थिङ सेन्टर र  जिल्ला अस्पताल हुम्लामा सुत्केरी हुन आउनेको संख्या आठ सयभन्दा बढी सुत्केरी भएको पाइएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिने भनिएको सुत्केरी पोषण कोसेली भत्ताको विषयमा हुम्लाका सातवटै गाउँपालिकाका स्वास्थ्य शाखा संयोजकले तथ्यांक नदिएपछि ढिलाइ भएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमि सरिता बोहराले जानकारी दिइन् ।

सातवटै स्थानीय तहका स्वास्थ्य संयोजकहरूलाई पटकपटक सुत्केरीहरूको तथ्यांक बुझाएर भत्ता लिन आग्रह गरे पनि उनीहरूले चासो नदेखाएको बोहराले बताइन् । असार महिना लाग्न थाल्दा पनि स्थानीय तहहरूबाट तथ्यांक नआएपछि बजेट फ्रिज भएर जान सक्ने सम्भावना देखिएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलका अनुसार कर्णालीका १० वटै जिल्लामा सुत्केरी पोषण कोसेली भत्ताबापत चार करोड बजेट विनियोजन भएको छ ।

#हुम्ला # सुत्केरी आमा # सुत्केरी पोषण कोसेली भत्ता # डिजिटल संस्करण