कोभिड–१९को संकट व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री शाहीको दाताहरुलाई आग्रह

 

सुर्खेत -कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोभिड–१९ को संकट व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वुधवार भएको छलफलमा मुख्यमन्त्री शाहीले रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण वढेको वताउदै सहयोगको लागि दाताहरुलाई आग्रह गर्नुभयो ।

भारतवाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको वताउदै मुख्यमन्त्री शाहीले क्वारेन्टाईन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको वताउनुभयो ।
कर्णाली प्रदेशवाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको वताउदै मुख्यमन्त्री शाहीले अझै पनि १ लाख भन्दा वढी नागरिक कर्णाली फर्कने अनुमान रहेको वताउनुभयो ।

ठुलो संख्यामा विदेशवाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न निकै चुनौतीपूर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परिक्षण गर्न सकिने वताउदै प्रयोगशालाको संख्या वृद्धि गर्न आवश्यक रहेको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाईन र आईशोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परिक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड–१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनु परेको मुख्यमन्त्री शाहीको भनाई छ ।
प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीविको रेखामुनी रहेका नागरिकका लागि क्वारेन्टाईनमा रहनुपर्ने १४ दिन सम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी दिनुभयो ।

विकास साझेदार संस्थाहरुसंगको छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु र  संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।