सुर्खेतमा थप १५ जना कोरोना देखियो,कर्णाली ३८ जना

सुर्खेत : स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा थप १५ जनामा कोरोना संक्रमण देखिएको बताएकाछन् ।

नियमित मिडिया ब्रिफिगं गर्ने क्रममा डा. तिवारीले सुर्खेतमा पिसिआर र आरडिटी परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको बताएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएका परिक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

जम्मा जम्मी १६० वटा आरटी पिसिआर परिक्षण गर्दा १५ वटा पोजेटिभ देखिएको तिवारीले बताए । कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा ७० र सुर्खेतको प्रयोगशालामा ९० वटा आरटी परिक्षण गरिएको थियो । आरडिटी परिक्षण भने सवैको नेगेटिभ देखिएको उनले बताए ।

भरतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल डाक्टर तिवारीले जानकारी दिए । उनिहरूमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए ।
पोजेटिभ देखिएका सवैलाई आइशोलेशनमा राखि उपचार शुरु गरिएको बताइएको छ ।

यो संगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ । यसअघि दैलेखका ८ जना र सुर्खेतका १५ गरि जम्मा २३ जना संक्रमित थिए । योसंगै सुर्खेतका मात्रै ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश अस्पतालमा निधन भएका युवाको रिपोर्ट नेगेटिभ
भारतबाट आई मंगलबार राती प्रदेश अस्पताल सुर्खेतमा निधन भएका अवलचिंग सुर्खेतका युवाको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
५ दिन लगाएर कर्णाली प्रवेश गरेका उनलाई बिरामी भएपछि प्रदेश अस्पताल लगिएकोमा उनको निधन भएपछि कोरोना परिक्षण गरिने अस्पतालले जनाएको थियो ।

सुर्खेत चिंगाड गाउँपालिका वडा नं ५ पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका युवाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालले उनलाई बाथ रोग भएको बताएको थियो ।

५ दिन अघि भारको गुजरातबाट हिडेका उनी यात्राकै क्रममा बिरामी भई हिजो अस्पतालमा भर्ना भएको र अस्पताल लगिएको केही समय पछि नै राती १२ बजे उनको निधन भएको थियो ।