मानसरोवरमा के–के देख्न पाइन्छ ?

मानसरोवर कैलाश तिब्बतमा रहेको हिन्दू र बुद्ध धर्मको महत्वका हिसाबले हेरिएको ताल हो । तिब्बती भाषामा मापाम युम सोनामका नामले चिनिने यो ताल समुद्री सहतबाट करिब ४,५०० मिटर उचाइमा छ । यो तालको पश्चिममा राक्षस ताल र उत्तरमा कैलाश पर्वत छ ।

मानसरोवरको खास चिनारी भनेको यो धार्मिक तीर्थस्थल हो । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्र स्थल मानिन्छ । कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ । नेपालीभन्दा बढी भारतीय तीर्थयात्री मानसरोवर पुग्ने गरेका छन् । धार्मिक मात्र नभएर पर्यटकीय दृष्टिले पनि प्रख्यात छ, मानसरोवर ।

के–के देख्न पाइन्छ ?
तीन सय ५० वर्गमिटरमा फैलिएको मानसरोवर ताल तीन सय फिट गहिरो छ । यो ताल देख्दा कुनै समुद्रको किनारमा उभिएको भान पर्छ । हिन्दू धर्मावलम्वी कैलाश पर्वतसँग महादेव र पार्वतीको कथा जोडेर व्याख्या गर्छन् । भगवान् शिवको वासस्थान कैलाश पर्वत निकै आकर्षक मानिन्छ । बुद्ध धर्मावलम्बीले बुद्धसँग जोडेर यसको व्याख्या गर्ने गरेका छन् ।

मानसरोवर निकै चिसो क्षेत्र हो । तर, पनि यहाँको मनमोहक दृश्यले न्यानो दिन्छ, शान्ति दिन्छ । कैलाश पर्वतसँग भारतको ब्रह्मपुत्र नदीको सम्बन्ध पनि जोडिन्छ । नेपालको कर्णाली नदीसँग पनि नाता छ, कैलाश पर्वतको ।

मोहक तालको दृश्यपछि पर्यटकले कैलाश पर्वतलाई फेरो लगाउँछन् । अर्थात्, पुण्यप्राप्तिका लागि कैलाश पर्वतको परिक्रममा गर्नुपर्छ भनिन्छ । तीर्थालुहरू चिसो ठिहीमा पनि पैदलयात्राबाट परिक्रमा गर्छन् । कोही भने घोडाबाट पर्वतको परिक्रमा गर्छन् ।

अर्को आकर्षक गन्तव्य हो, राक्षस ताल । मानसरोवरको पश्चिमतिर पर्ने यो ताल ४,७५२ मिटरको उचाइमा छ । निकैै चिसो स्थानमा रहेको यो तालको पानी नुनिलो हुन्छ । जब नेपालको हुम्ला पुगिन्छ, त्यहीँबाट सुरु हुन्छ, आकर्षण । हुम्लाको सिमिकोट बजार हुँदै हिल्सा पुगिन्छ । सिमिकोटबाट चार दिन पैदलपछि पुगिन्छ, हिल्सा । यही बीचमा देखिन्छ, च्याछहरा झरना, उच्च हिमाली क्षेत्रमा तोरी फल्ने यारी गाउँ अनि हुम्लामा पालिएका चौँरी गाई ।

हुम्लामा अर्को गन्तव्य छ, कान्छो कैलाश भनेर चिनिने खार्पुनाथ तीर्थ । हिल्सा कटेपछि देखिन्छ, ताक्लाकोट । तिब्बतको ताक्लाकोटको दृश्य अर्को आकर्षण हो । सुरुमै आउने राक्षस तालले मानसरोवरको तृष्णालाई बढाइदिन्छ । बाटोमा देखिने गुम्बा र मन्दिरले साँच्चिकै आकर्षण थपेको छ ।

कसरी जाने ?
भारतीय तीर्थयात्रीले चीनको भिसा लिनुपर्छ र छुट्टै परमिट पनि । भिसा र परमिट भएपछि मात्रै भारतीय तीर्थयात्री तिब्बतको मानसरोवर कैलाश दर्शन गर्न पाउँछन् । भारतीय पर्यटक नेपालको नेपालगन्ज हुँदै हुम्लाको सिमिकोट विमानस्थलमा ओर्लिन्छन् । सिमिकोटबाट हिल्सा नाकासम्म सडक यातायात छैन । सिमिकोट विमानस्थलबाट हिल्सा नाकासम्म हेलिकोप्टरले सेवा दिँदै आएका छन् । विमानस्थलबाट हिँडेरै मानसरोवर पुगिन्छ ।

हुम्लाको हिल्सा नाकासम्म तिब्बतले सडक कालोपत्र गरेपछि त्यहाँबाट मानसरोवर कैलाश सजिलैसँग पुगिन्छ । मानसरोवर पुग्ने छिटो र छोटो नाका नेपालको हिल्सा नै हो । गत वर्ष करिब १२ हजार भारतीय पर्यटक मानसरोवर यात्राका लागि आएका थिए । सिमिकोटका १२ वटा ट्राभल्स एजेन्सीले भारतीय तीर्थयात्रीलाई मानसरोवर दर्शन गराउने गरेका छन् ।

कहाँ बस्ने ?
मानसरोवर जान नेपालगनज र हुम्लामा वास बस्नुपर्छ । सिमिकोटबाट मानसरोवर जाँदा–आउँदा एक÷एक रात वास बस्नुपर्छ । १५ मिनेटमा हेलिकोप्टरबाट हिल्सा नाका पुगिन्छ । हुम्लाको हिल्सा नाकामा प्रशस्त होटेल र पसल छन् । चीनको ताक्लाकोटमा पनि वासको समस्या हुँदैन । कैलाश पर्वत दर्शन गर्न दुई दिन लाग्ने भएकाले दुई रात ताक्लाकोट बस्नुपर्छ ।

के–के लैजाने ?
समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा अवस्थित रहेकाले कैलाश पर्वतमा लेक लाग्ने सम्भावना हुन्छ । न्यानोका लागि बाक्लो ज्याकेट, टोपी, चस्मा, तातोपानीका लागि थर्मस, स्पोर्टस् सुज बोक्नुपर्छ । सकेसम्मा झोला हलुका हुनुपर्छ । हाई अल्टिच्युड सिकनेसको औषधि बोक्नुपर्छ । खानेकुरा जतिवेला पनि नपाइन सक्छ, त्यसैले साथमै बोक्नुपर्छ । कैलाश मानसरोवर पुग्दा दिउँसोको समय ड्राइफुड बोक्नुपर्छ ।

कति लाग्छ खर्च ?
भारतीय तीर्थयात्री आठदेखि १० दिनको प्याकेजमा मानसरोवर कैलाश दर्शन गर्ने आउँछन् । उनीहरू दुई लाख भारु खर्च गरी १० दिनको प्याकेजमा हुम्लाको हिल्सा नाका हुँदै चीनको मानसरोवर पुग्छन् । नेपालीका लागि भने विशेष प्याकेज छैन ।