लकडाउन आज ५६औँ दिनमा

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लागू गरेको लकडाउनको आज सोमबार ५६औँ दिन पुगेको छ । गत ११ चैतदेखि सरकारले लकडाउन कार्यान्वयनमा ल्याएको थियो ।

निरन्तर लामो समयसम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावश्यकबाहेकका सबै सेवा बन्द भएका छन् ।
गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै काठमाडौं उपत्यकाभित्र लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरू खोल्न दिने निर्णय गरेको थियो ।

तर, देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई फेरि कडाइ गरेको छ ।

सरकारले लकडाउनको समय अवधि फेरि १५ दिन थप गरी जेठ २० गतेसम्म पुऱ्याएसँगै लकडाउन कार्यान्वयनमा केही कडाइसमेत गर्न थालिएको छ ।

सुरक्षाकर्मीहरूले सडकमा चेकजाँचलाई थप कडाइ गरेका छन् भने काठमाडौं उपत्यकाका भित्रीसडकमा समेत सुरक्षाकर्मीहरू पुगेर लकडाउन कार्यान्वयनमा भूमिका खेल्न थालेका छन् ।

लकडाउनको उल्लंघन गरी भित्रीसडकमा खोलिएका पससहरूलाई सुरक्षाकर्मीले बन्द गर्न लगाएका छन् ।

सुरक्षाकर्मीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाइ पारेको छ । अत्यावश्यक सेवाबाहेकका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सडकमा अत्यन्त न्यून मात्र मानिस ओहोरदोहोर गरेको देखिन्छ ।