कर्णाली प्रदेशको फाष्ट ट्रयाक निर्माण गर्न हवाई सर्वे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहितको चिनियाँ टोलीले कर्णाली करिडोर फाष्ट ट्रयाकको लागि हवाई सर्वे गरेका छन् । मुख्यमन्त्रीको नेतृत्व र चिनियाँ सिचुवाङ्ग प्रान्तको सिआरसी रेल वे कम्पनीको टोलीले जमुनादेखि हुम्लाको हिल्सा नाकासम्म प्राराम्भिक सर्वे गरेको हो ।

सर्वेका लागि हुम्ला पुगेका मुख्यमन्त्री शाहीले भौगोलिक अवस्था कठिन भएकाले हवाई सर्वे गरिएको बताए । सडक बिना प्रदेशको सम्वृद्धि नहुने भएकाले सडकलाई पहिलो प्रथामिता दिएको उनले बताए । उनले भने, ‘हिल्सा फाष्ट ट्रयाक सडक महत्त्वपूर्ण रणनीतिको सडक हो, यसका लागि संघीय सरकारसमेत सकारात्मक देखिएको छ ।’

हिल्सा नाका मानसरोवर कैलाशसम्मको गन्तव्य तथा व्यापारिक नाका रहेकाले सडकमा लगानी गर्दा फरक नपर्ने मुख्यमन्त्री शाहीको भनाई छ । प्रदेशका प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले पनि सडक निर्माण कार्यलाई सकारात्म रुपमा हेरिएको बताए ।

जुमनादेखि हिल्सासम्मको फाष्ट ट्रयाक निर्माण गरे मानसरोवरका लागि उपयुक्त नाका हुने प्रतिपक्ष दलका नेता शाहीले बताए । सिचुवाङ्ग प्रन्तका चिनियाँ सरकारी कम्पनीका नेपाली प्रतिनिधि कविन्द्र जोशीले चिनियाँ इन्जिनियर टोलीले गाडीबाट समेत सर्वे गर्ने बताए ।

सर्वेको प्रतिवेदन तयार भएपछि कस्तो सडक बनाउने भन्ने विषयमा बजेट समावेश गर्ने जोशीले बताए । सर्वेमा प्रदेशका मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री दल बहादुर रावल, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, भौतिक विकास मन्त्री खड्क खत्री, कर्णाली प्रदेका प्रतिपक्ष दलका नेता, प्रतिनिधि सभाका सदस्य छक्क बहादुर लामा, सिचुवाङ्ग प्रन्तका चिनियाँ कम्पनीका नेपाली प्रतिनिधि जोशी लगायत सात सदस्य प्राविधिक टोलीको सहभागी थियो ।