स्थानीय तहहरुले सहयोग नगरेपछि व्यक्तिगत सहयोगको संख्या बढ्दै ।

नन्द सिंह  हुम्लाका स्थानीय तहहरुले जिल्ला भरिका क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई गास,बास र कपासको उचित व्यवस्था नगरेपछि गाउँघरका स्थानीय व्यक्तिहरुको सहयोग उल्लेखनिय रुपमा बढ्दै गएको छ ।
क्वारेन्टाइनमा बस्दै आएका नागरीक भने वडा कार्यालयले आफुहरुलाई भेडा बाख्रा सम्झेर विना सेवा सुविधाको क्वारेन्टाइनमा राखेको भन्दै गुनासो गर्न थाल्नु भएको छ । वडा पाँच कार्यालयले बेड लत्ता कपडाको सुविधा नदिदा आफ्नै घरबाटै ल्याएर क्वारेन्टाइनमा बस्नुपरेको उहाँहरुको गुनासो छ ।

सिमकोट गाउँकार्यपालिकाको केही दिन अगाडी बसेको बैठकले आफ्ना वडा एक देखि आठ सम्म उद्धार गरीएका नागरीकलाई विहान बेलुका प्रति छाक खानाको दुई सय पचास मात्रै दिने निर्णय गरेको हुँदा क्वारेन्टाइनमा बस्ने नागरिकलाई समस्या निम्तीएको छ ।

वडा पाँच कार्यालयले क्वारेन्टाइनमा बसेका आफ्ना वडाका नागरीकलाई ।प्लाष्टिकको कार्पेट बाहेक अरु सुविधा दिन सकेको छैन । त्यस्तै पाँच नम्वर वडा कार्यालय मात्र नभएर सिमकोट गाउँपालिका–७ को धारापोरिमा पनि उस्तै समस्या भएको छ । गाउँपालिाकाको निर्णयमा प्रति एक छाकको २ सय ५० रुपियाँ छुट्याएको भए पनि वडा कार्यालयले दुई छाकको ४ सय रुपियाँ मात्र दिने भनेको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको गुनासो छ ।

सिमकोट गाउँपालिकाको–५ नम्वर वडा कार्यालयले बेड बनाउन नसक्दा भुइमा सुत्दै आएका ज्येष्ठ नागरिकलाई सित लाग्ने डर रहेको भन्दै वैशाख २४ गते हुम्लाको सदरमुकाम सिमकोट स्थित मानसरोवर होटेलका मालिक चिन रावतले १५ वटा बेडको आर्थिक सहयोग गर्नु भएको हो ।

वडा पाँचका अध्यक्ष कृष्ण बोहरा भने वडा कार्यालयबाट उद्धार गरेका ४३ जना नागरीकलाई बेडको व्यवस्था गर्न समस्या हुँदा केही ज्येष्ठ नागरिकलाई मात्रै उपलब्ध गराएको र अरु सबै भुइमा सुत्दै आएको बताउनु हुन्छ ।