सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश अन्तरगतका १० वटै जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भईरहेका कामकारवाहीहरुका वारेमा जानकारी लिनुभएको छ ।
मुख्यमन्त्री शाहीले विहिवार १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग भिडियो कन्फ्रेन्स गरि कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भईरहेका प्रयासहरुको जानकारी लिनुभएको हो ।
लकडाउनले दैनिकी कष्टकर वनेका कारण उद्धार गरि गाउँ फर्काईएका मजदुर, विद्यार्थी लगायतका सवै नागरिकहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन भिडियो कन्फ्रेन्स मार्फत मुख्यमन्त्री शाहीले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्नुभयो ।
जोखिममा रहेका नागरिकको उद्धार गर्नु सरकारको दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले संक्रमण फैलिन नदिन भने उच्च सावधानी एवं सतर्कता अपनाउनु पर्ने वताउनुभयो । अरु देशका सरकारले दुई चार जनाको लागि भएपनि जहाजै रिजर्भ गरेर स्वदेश फर्काएको उदाहरण दिदै मुख्यमन्त्री शाहीले समस्यामा परेका नागरिकलाई किन गाउँ फर्काको भनेर गरिएको तर्क गलत रहेको वताउनुभयो ।
नागरिकहरु कार्यस्थल तथा डेरामा भोकभोकै हुने र उनीहरुको व्यवस्थापन पनि नगर्ने अवस्थाले राज्यप्रति नै वितृष्णा पैदा हुने भएकोले अति समस्यामा रहेका र प्रदेशको सिमा सम्म हिडदै आईपुगेका नागरिकहरुलाई स्थानीय तहसंगको सहकार्यमा सम्वन्धित स्थानीय तहसम्म पुरयाउन सहजीकरण गरिएको उहाँको भनाई छ ।
मुख्यमन्त्री शाहीले सामाजिक दुरी कायम गर्दै एकाघरका परिवार मात्रै सहभागि हुनेगरि किसानहरुलाई मौसमी वाली भित्र्याउने, व्याड राख्ने लगायतका कृषि कार्य गर्न दिने व्यवस्था मिलाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभयो । त्यसैगरि मेशिन र कम जनशक्तिको प्रयोगवाट हुनसक्ने विकास निर्माणका कामहरु पनि निरन्तरता दिने व्यवस्थापन गर्न उहाँले निर्देशन गर्नुभयो ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमण प्रति अलिकति पनि लापरवाही हुन नहुने वताउदै मुख्यमन्त्री शाहीले लकडाउनलाई क्षेत्रगत रुपमा कडाई गर्नुपर्ने वताउनुभयो । एक टोलवाट अर्को टोल, एक स्थानीय तहवाट अर्को स्थानीय तह र एक जिल्लावाट अर्को जिल्लामा हुने आवागमणलाई कडाई गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री शाहीले नागरिकको जीवन रक्षाको दायित्व सरकारको भएको वताउदै सरकारका सवै निकायहरुसंग सहकार्य गर्दै कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको काममा गम्भिरतापुर्वक लाग्न आग्रह गर्नुभयो ।
प्रदेश सरकारले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका लागि आवश्यक व्यवस्था गरिरहेको वताउदै मुख्यमन्त्री शाहीले स्थानीय तहका लागि आवश्यक वजेट, स्वास्थ्य सामाग्रि तथा अत्यावश्यक खाद्यवस्तुको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भिडियो कन्फ्रेन्समा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाँण्डे र कर्णाली प्रदेश अन्तरगतका दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको थियो ।
कर्णाली रैवार संवाददाता । ११ बैशाख २०७७, बिहीबार २०:१५