‘जनयुद्ध’ शब्दमा विष-वमन किन भन्दै जनार्दनले सुर्य थापालाई दिए भेलामै दनक

जब नेता थापा चाैरजहारी पुगे त्यसपछि बाटोमा बनाइएका प्रवेशद्वारमा ‘जनयुद्ध दिवस’ भनेर उल्लेख गरिएका गेट र व्यानरहरु देखे । फागुन ४ गते आयोजित भेलामा थापाले आफ्नो मनमा एउटा जुक्ति निकालि हाले ‘जनयुद्ध’ शब्दप्रति नै आपत्ति जनाउने भनेर । उसोतः चाैरजहारी तत्कालीन एमालेका स्वर्गिय नेता यदु गाैतमको गृहस्थान पनि हो । माओवादीद्वारा हत्या गरिएका गाैतमको गृहस्थानमा पुगेपछि थापाले ‘जनयुद्ध’ शब्ददप्रति नै आपत्ति जनाउने निर्णय गरेको उनको मनोविज्ञाने प्रष्ट पार्छ ।

प्रेस संगठन नेपालको कर्णाली प्रदेशको एकता भेलामा सहभागी नेताहरु

उनी जनयुद्ध भन्ने शब्दप्रति बेलाबेलामा तिखो प्रहार गर्ने र चर्चामा आउने गरेका नेतामा पर्छन् । नेतृत्वमाथि नै प्रहार गर्ने गरेका थापालाई यदुको गाउँमा पुगेपछि यति भन्दा थप चर्चा हुन्छ भन्ने मनोवलले राम्रै काम गर्न पुग्यो सायद उनले भेलामै प्रश्न उठाए । यो के हो ? कसले राख्यो जनयुद्ध दिवस भन्ने ब्यानर ? की यहाँ छुट्टै पार्टी चलेको छ र ? पार्टी केन्द्रको ब्यान एउटा यहाँ अर्कै कसरी हुन्छ? यी यस्तै तर्क राख्दै उनले भेलामा सन्किए । हलको माहोल नै स्तब्ध हुनेगरि आफ्ना कुरा मज्जाले राखे ।

उनी मञ्चमा भाषण गर्दै जनयुद्ध शब्दप्रति कडा आक्रोस व्यक्त गर्दै गर्दा प्रमुख अतिथि भने ठूलीभेरीमा र्‍याफ्टिङ गर्न पुगेका थिए । भेलाको उद्घाटन ढिला हुने देखिएपछि प्रभाकर र्‍याफ्टिङ गर्दै गर्दा यता थापाले आफ्नो कुरा राखिसकेका थिए । यति कुरा सुनेपछि हलमा उपस्थित प्रेस संगठनका एक नेताले प्रभाकरलाई फोन गरेर यी विषयबारे जानकारी गराइसकेका थिए ।

थापाको कुरापछि जुगलले प्रश्न तेर्स्याए । थापासँग प्रतिवाद गरे । केहि समय विवाद चर्कियो । जुगलले जनयुद्ध शब्द पार्टीको विधानमै उल्लेख भएको भन्दै विधान राम्ररी अध्ययन गर्न चुनाैति दिए । थापा पनि के कम । विवाद थप चर्किएपछि जुगलले थापालाई कसको आडमा पार्टी एकताप्रति विष वमन गर्नुहुन्छ भन्दै प्रश्न समेत गरे । तर, थापाले प्रतिवाद गर्ने मात्रै गरे । कर्णाली प्रदेशमा माओवादी वर्चस्व भएकाले पनि हुुन सक्छ थापा केहि लचिलो तर कडा बन्ने चेष्टा गरे ।

यत्तिकैमा हस्याङफस्याङ गर्दै भेलास्थलमा आइपुगे प्रभाकर । जनयुद्धको बेला जनमुक्ति सेनाका डेपुटी कमाण्डर समेत रहेका प्रभाकरलाई यो कुरा पचोस कसरी ? कडा र सिधा बोल्ने प्रभाकरले थापालाई मञ्चमै जवाफ दिए । पार्टी एकताको सुत्रधार को हो भनेर कसैलाई सोध्नु पर्दैन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई सोधे पुग्छ । जनयुद्ध शब्दप्रति यतिधेरै वितृष्णा र द्वेधभाव के लागि? प्रश्न तेर्स्याए । नेता थापा मुसुमुसु हाँसेको जस्तो गरे । प्रभाकरको रिस उच्च विन्दुमै पुगेको थियो सायद, पार्टी दस्तावेज देखाउदै जनयुद्ध शब्द यहाँ छ । अध्ययन गर्नुस । नेताले जे पायो त्यो बोल्दै गएमा कस्तो पार्टी बन्छ ? अनुशासन भन्ने कुरा ख्याल राख्नुस् । कडा स्वरमा जवाफ दिए ।

यति भएपछि थापा पनि के कम । आफूले लेखेको पुस्तक प्रभाकरलाई थम्याउदै पुस्तक अध्ययन गर्न भने । प्रभाकरले उक्त पुस्तक टेबुलमा फ्याँकिदिए । आक्रोशित बनेका प्रभाकरले झण्डै आधा घण्टा त भेलालाई संबोधन गर्दै जनयुद्धबारे नै बोले ।

भेला सकिएपछि थापा राजधानी लागे । आफ्ना नजिकका मिडियालाई विभिन्न शिर्षकमा समाचार बनाउन लगाए । तर, उता प्रभाकर भने कर्णाली प्रदेश मै व्यस्त रहे । यसैमा प्रचण्ड सुर्खेत पुगे । जुगल र प्रभाकरले थापाको अभिव्यक्तिबारे जानकारी समेत गराएपछि प्रचण्डले यो विषयमा गम्भीर चासो व्यक्त गरेका छन् ।