जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र स्थान छैन : जनार्दन शर्मा

रुकुम पशिचम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताएका छन् ।

कर्णाली प्रदेश प्रेस सङ्गठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा शपथग्रहण कार्यक्रममा पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको भन्दै उनले सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको बताए । छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे ।

केन्द्रले कर्णालीको आवाज कम सुन्छ भन्दै उनले कर्णालीमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।

दुई वर्षदेखि रुकुम पश्चिममा सङ्घीय सरकारको बजेट रोकिएको तथा कर्णालीको विकास लगानी कम भएको भन्दै उनले राज्यले कर्णालीलाई हेला गरेको जिकिर गरे ।

उनले यहाँको विकासका लागि पत्रकारितामार्फत बुलन्द आवाज उठाउन पत्रकारलाई आग्रह गरे । “जनताको आलोचना नै हाम्रो ऊर्जा हो”, शर्माले भने ।