प्रहरीले हिउँ पन्छाएपछि खुल्यो सिमकोट विमानस्थल

हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध हुम्लाको सिमकोट विमानस्थल प्रहरीले हिउँ पन्छाइएपछि सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरको नेतृत्वमा ५५ जना प्रहरीले विमानस्थलमा जमेको हिउँ पन्छाएको हो । हिउँ पन्छाइएपछि शनिबार उडान सुचारु सम्भव भएको हो । विमानस्थलमा जमेको हिउँ पन्छाउन डिएसपी घर्तीमगर आफैँ खटेका थिए ।

दुई दिनदेखि जारी हिउँ पन्छाउने कार्य सम्पन्न भएपछि शनिबार सिता एयरको उडान भएको सिमकोट नागरिक उडड्यन कार्यालय हुम्लाका प्रमुख बिष्णु अधिकारीले बताए । हिउँ पन्छाउन जिल्ला प्रशासन, जनप्रतिनिधि, स्थानीय, व्यापारी कसैले पनि चासो नदिएपछि डिएसपी घर्ती आफैँ अग्रसर भएका थिए ।

हिउँ पन्छाउन प्रहरीले १० लिटर डिजेल सहयोग गरेर डोजर पनि सञ्चालन गरेको थियो । हिमपातले विमानस्थल अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेत जाने यात्रुहरू जिल्ला सदरमुका सिमकोटमै बस्न बाध्य भएका थिए । पाँच दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत बन्द भएको थियो ।