हिमपातले विद्यार्थीलाई परीक्षा दिन सकस

हुम्ला  हिमपातले चिसो बढेपछि हुम्लाका विद्यार्थीलाई परीक्षा दिन सकस भएको छ । हात चिसिएर लेख्नै मुस्किल हुने गरेको विद्यार्थीले गुनासो गरेका छन् । हुम्लामा वार्षिक परीक्षा चलिरहेको छ । यही वेला दुई दिन हिमपात भएको छ । पूर्वनिर्धारित भएकाले परीक्षा रोकिएको छैन ।

तर, अत्यधिक चिसोले गर्दा विद्यार्थीलाई समस्या भएको हो । चिसोले लेख्नै गाह्रो भएको देवकोटा आधारभूत विद्यालयका विद्यार्थी सन्देश फडेराले गुनासो गरे । ‘धेरै चिसो भयो । उत्तर लेख्नै सकिनँ,’ उनले भने । जिल्लामा २२ मंसिरदेखि परीक्षा सुरु भएको हो ।

चिसो भएकाले चौरमा राखेर परीक्षा लिने गरिएको थियो । हिमपातले चौरमा बस्न सक्ने अवस्था नभएपछि कक्षाकोठामै बसेर परीक्षा दिइरहेका छन् । ‘घाम लाग्दा चउरमा बसेर परीक्षा दिन्थ्यौँ । हिउँ परेपछि कक्षाकोठामै बसेर दिइरहेका छौँ, चिसोले समस्या भएको छ,’ कक्षा ८ मा अध्ययन हिमाली फडेराले भनिन् ।

हिउँका कारण कक्षाकोठामै परीक्षा सञ्चालन गरिएको भए पनि चिसो बढेको शिक्षकले बताएका छन् । चिसोले समस्या भएको देवकोटा आधारभूत विद्यालयका प्रधानाध्यापक मक फडेराले बताए ।

हिउँ परेको क्षेत्रमा कक्षा कोठामा परीक्षा सञ्चालन भइरहेको भए पनि हिउँ नपरेको ठाउँमा चौरमा परीक्षा चलिरहेको सर्केगाडका स्रोतव्यक्ति वीरजन शाहीले बताए । मंसिरमै हिमपात भएपछि सकस भएको उनको भनाइ छ ।