गाउँमा मोटर पुगेपछि स्थानीय दंग

जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का आंँगनमै मोटर पुग्दा दंग छिन् । ‘गाउँमा मोटर चल्न थालेपछि हामीले फलाएको तरकारी, फलफूल र अन्नपात बेच्न सजिलो भएको छ,’ खुसी हुँदै खड्काले भनिन्, ‘सुन्तला, बदाम, अम्बा, अमिलो र कोदो बेच्न बिहानै जिपमा चढेर बजार जान्छौँ, आफूलाई आवश्यक सामान किनेर साँझ फर्कन्छौँ ।’

जुनिचाँदेमा गाडी पुग्दा स्थानीय एक दर्जन गाउँको कृषि उत्पादनले बजार पाएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । स्थानीयले तरकारी, कोदो, फलफूल बिक्री गरी चामल, दाल, नुन, तेल किनेर खाने गरेका छन् । गाउँपालिकाले सडक र विद्युत्लाई केन्द्रमा राखेर काम गरिरहेको अध्यक्ष केसीले बताए । गत वर्ष गाउँपालिका क्षेत्रमा ६० किलोमिटरभन्दा बढी सडक निर्माण भएको छ ।